बिराटनगर । रोटरी क्लब अफ बिराटनगर डाउनटाउनले आज नगरपालिकासँगको समन्वय तथा सिफारिसका आधारमा दुई विद्यालयलाई खेलकुद सामग्री वितरण गरेको छ।
क्लबले जनता आधारभूत विद्यालय बिराटनगर–१८ र महामाया भगवती आधारभूत विद्यालय बिराटनगर-१६ मा पुगेर विविध खेल सामग्री हस्तान्तरण गरेको हो।
वितरण गरिएको सामग्रीमा १४ थान ब्याडमिन्टन र्याकेट, २ भलिबल, १ भलिबल नेट, २ फुटबल, १ ब्याडमिन्टन नेट, १० सेट स्कीपिङ रोप, २ सेट लुडो, १ क्यारम बोर्ड, क्यारम गोटी तथा स्ट्राइकर सेट, क्रिकेट ब्याट, स्टम्प र २ क्रिकेट बल समावेश थिए। खेलकुदमा रुचि जगाउँदै विद्यार्थीहरूको शारीरिक विकास तथा तन्दुरुस्तीलाई प्रोत्साहन गर्ने उद्देश्यले सामग्री उपलब्ध गराइएको क्लब अध्यक्ष रोटेरियन गिरिजा सारडाले बताइन्।
कार्यक्रममा कुसुम चैनवाला, सपना सिंघल र स्नेहा अटल पनि उपस्थित थिए। सामग्री प्राप्त गरेपछि दुवै विद्यालयका विद्यार्थीहरू अत्यन्तै खुसी र उत्साहित देखिएका थिए।
रोटरी क्लब अफ बिराटनगर डाउनटाउनले समुदायमा केन्द्रित सामाजिक कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
