काठमाडौं । गोवाको अर्पोरा गाउँस्थित बर्च बाई रोमियो लेन नाइटक्लबमा गएको शनिबार राति भएको भीषण आगलागी घटनाका विषयमा त्यसका मालिक लूथरा दाजुभाइलाई थाइल्यान्डमा नियन्त्रणमा लिइएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार, दिल्लीस्थित रेस्टुरेन्ट चेन रोमियो लेनका मालिक समेत रहेका सौरभ र गौरव लूथरा गोवा नाइटक्लबमा आगलागी भएको केही घण्टामै भागेर थाइल्यान्डको फुकेट पुगेका थिए ।
उक्त घटनामा पाँच नेपालीसहित २५ जनाको मृत्यु भएको थियो । ज्यान गुमाउनेमा पाँच पर्यटक र २० जना नाइटक्लबका कर्मचारी थिए ।
आगलागी सुरु हुँदा नाइटक्लबमा अधिकांश पर्यटकसहित करिब १०० जना उपस्थित थिए । बलिउड गीतमा डान्सर र संगीतज्ञले प्रस्तुति दिइरहेका थिए ।
नाइटक्लबको सजावटमा धेरै प्रज्वलनशील सामग्री प्रयोग गरिएको र सुरक्षा मापदण्ड उल्लंघन भएकाले आगो निकै तीव्र रूपमा फैलिएको जनाइएको छ ।
त्यहाँका फायर एक्स्टिङ्ग्विसर र सुरक्षा अलार्मले काम नगरेको र साँघुरो सडकका कारण दमकल ४०० मिटर टाढा रोकिएका थिए । सोही कारण उद्धार कार्यमा ढिलाइ भएको थियो ।
गोवा प्रहरीले चार कर्मचारीलाई पक्राउ गरिसकेको छ । लूथरा दाजुभाइका व्यापारिक साझेदार अजय गुप्तालाई पनि दिल्लीमा पक्राउ गरिएको छ । लूथरा दाजुभाइमाथि लापरबाही र हत्याको मुद्दा दर्ता गरिएको छ ।
