






विराटनगर । पूर्वको गौरवको रूपमा रहेको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसले सयौं राष्ट्रिय स्तरका नेता जन्मायो । तर, ५७ वर्षअघि राजा महेन्द्रको पालामा निर्माण भएको यो भवन अहिले लथालिंग अवस्थामा छ।
२०२० सालमा तत्कालिन राजा महेन्द्रले उद्घाटन गरेको र २०२५ सालबाट सञ्चालनमा आएको यो क्याम्पसको भवन वर्षौंसम्म पूर्वको शैक्षिक केन्द्र बन्यो।
यस क्याम्पसबाट अध्ययन गरेका विद्यार्थीहरूले विभिन्न कालखण्डमा देशको बागडोर मात्र सम्हालेनन्, राष्ट्रप्रमुख समेत भए । तर, भवन भने जिर्ण बन्दै गइरहेको छ । विद्यार्थीहरूको भविष्य बोकेको यो क्याम्पसको आफ्नै अवस्था भने आइसियुमा राखेको सिकिस्त विरामी जस्तै बनेको छ ।
५७ वर्षदेखि विद्यार्थीको भार बोकेको यस विद्यालयले ६ दशकसम्म भार मात्र बोक्यो, तर पाएन कुनै राहत । यहाँबाट अध्ययन गरेका विद्यार्थीहरू आफू त बने, तर यो भवनतर्फ फर्केर नहेरेको भवन हेरेर अनुभव गर्न सकिन्द्ध ।
आज यो भवन थला परेको छ। तर, यसतर्फ कसैले ध्यान दिएको देखिँदैन। बैशाख ३१ गते मात्र यस विद्यालयको भवनको छतको टुक्र झरेर एक शिक्षकको टाउको फुटेको घटना बाहिर आएको थियो।
अहिले भवनको अवस्था दयनीय छ। धेरै कक्षा कोठाहरूमा ताला लगाइएको छ । खुला रहेका केही कोठाहरूमा पनि छत हेर्दै विद्यार्थीहरू त्रासका साथ अध्ययन गरिरहेका छन्।
अध्ययन गर्दा गर्दै छत झरेर टाउको फुट्ने हो कि भन्ने त्रास विद्यार्थीहरुमा छ । बिना कुनै भय निर्धक्क अध्ययन गर्न पाउनु विद्यार्थीहरूको मौलिक अधिकार हो। तर, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा यो अधिकारसमेत हनन् भएको छ।
कोशी प्रदेश र अन्य प्रदेशका लागि पनि यो क्याम्पस आस्थाको धरोहर हो। इतिहासदेखि अहिलेसम्म यो क्याम्पसको महत्त्व उत्तिकै छ। नेपाली राजनीति देखि प्रशासनिक निकायको ठूलो ओहोदासम्म नेतृत्व गर्न सक्षम बनाएको यस कलेज आफै भने साहाराविहिन जस्तो छ ।
नेपालका धेरै परिवारको कथा र यस कलेजको कथा मिल्दोजुल्दो छ। बुवा–आमाले आफ्ना सन्तानलाई आफू खाईनखाई पढाउँछन्, सक्षम बनाउँछन्। तर अन्त्यमा, वृद्धावस्थामा बुढ्यौली लाग्दा उनीहरू एक्लै वृद्धाश्रममा वा गाउँमा छोरा–छोरीको आशामा अन्तिम साससम्म पर्खिन्छन्। त्यसैगरी, यो कलेजको भवनले पनि बैशाखी टेकेर नयाँ बिहानी खोजिरहेको छ।
भोलि ऐतिहासिक महेन्द्र क्याम्पसको भवन ढल्यो र त्यहाँ रहेका शिक्षक र विद्यार्थीहरूको अप्रिय समाचार सुन्नु भन्दा पहिले नै यस भवनको पुनर्निर्माण गर्न जरुरी छ। निर्धक्कताका साथ पढ्ने र पढाउने वातावरण सिर्जना गर्नु आवश्यक छ। नत्र, ३१ गतेको घटना त एउटा उदाहरण मात्र हो। भोलिका दिनमा यस्ता घटनाहरू दैनिक हुनेछन्।