काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले पार्टी छाडेका छन् । उनले नयाँ पार्टी निर्माण गर्ने तयारीस्वरुप दुई वटा नाममा छलफल चलाएका छन् । विघटित प्रतिनिधिसभामा रास्वपा प्रमुख सचेतकको भूमिकामा रहेका परियारले पार्टीको साधारण सदस्यताको राजीनामा समेत दिएका छन् ।
“मैले रास्वपा छाडेको छु । अब नयाँ पार्टी निर्माणमा लाग्छु,” परियारले बताए । उनले मानुषी यमी भट्टराई, सुदन किराँतीलगायत नेताहरूसँग समन्वय गरेर नयाँ राजनीतिक दल गठन गर्ने तयारी अघि बढाएका छन् ।
उनका अनुसार नयाँ पार्टीको नामका लागि ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’, ‘प्रगतिशील नागरिक पार्टी’ लगायतका प्रस्तावमा छलफल भइरहेको छ ।
“अब हामी नयाँ राजनीतिक दल बनाउँदैछौँ । मानुषी यमी भट्टराई, सुदन किराँतीलगायत साथीहरूसँग मिलेर नै अगाडि बढ्छौँ,” परियारले भने, “दलका बारेमा औपचारिक वक्तव्य जारी गर्ने तयारी भइरहेको छ ।”
परियारका भनाइमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा पत्रसमेत पठाइसकिएको छ ।
शुक्रबार (आज) उनले रास्वपाको सचिवालय सदस्य तथा साधारण सदस्य दुवै पदबाट राजीनामा दिएका छन् ।
