






काठमाडौं । भारत र अमेरिका लामो समयदेखि रोकिएको व्यापार सम्झौतामा अन्तिम रूप दिननजिक पुगेको समाचार समिति रोयटर्सले जनाएको छ ।
सम्झौता भएपछि भारतीय आयातमा अमेरिकाले लगाउँदै आएको ट्यारिफ (भन्सार शुल्क) ५० प्रतिशतबाट घटाएर १५ देखि १६ प्रतिशतको बीचमा ल्याइने बताइएको छ । समाचार संस्था लाइभ मिन्टले बुधबार सम्झौता ऊर्जा र कृषिमा केन्द्रित हुने बताएको छ । सम्झौता लागु भएपछि भारतले क्रमशः रूसबाट कच्चा तेलको आयात घटाउने सम्भावना छ ।
रोयटर्सका अनुसार, भारतको वाणिज्य तथा उद्योग मन्त्रालय र अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले यस विषयमा टिप्पणीका लागि गरिएका अनुरोधहरूको तुरुन्तै प्रतिक्रिया जनाएका छैनन् ।
मोदी–ट्रम्पबीच फोनवार्ता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोनमा कुराकानी गरेको बताएका थिए ।
यसमा मुख्यरूपमा व्यापार विषयमा ध्यान केन्द्रित गरिएको थियो । ट्रम्पका अनुसार, ऊर्जा पनि छलफलको प्रमुख हिस्सा थियो । प्रधानमन्त्री मोदीले उनलाई भारतले रूसबाट तेल खरिद सीमित गर्ने आश्वासन दिएका थिए ।
मोदीले पनि सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’मा पोस्ट गर्दै दुई नेताबीच कुराकानी भएको पुष्टि गरेका छन् । तर, दिवालीको शुभकामनाबाहेक अन्य विषयबारे केही विवरण दिएका छैनन् ।
मोदीले ‘एक्स’मा लेखेका छन्, “राष्ट्रपति ट्रम्प, तपाईंको फोन कल र दिवालीको हार्दिक शुभकामनाका लागि धन्यवाद । उज्यालोको यस पर्वमा हाम्रा दुई महान् लोकतन्त्रहरूले विश्वलाई आशाको प्रकाशले उज्यालो पारोस् र आतंकवादका सबै रूपविरुद्ध एकजुट रहोस् ।”
मिन्टले स्रोतहरूलाई उद्धृत गर्दै वासिंटनसँगको वार्ताको हिस्साका रूपमा भारतले गैरआनुवंशिक रूपमा संशोधित अमेरिकी मकै र भटमासको आयातमा वृद्धि गर्न अनुमति दिनसक्ने लेखेको छ ।
सम्झौतामा समय–समयमा ट्यारिफ र बजार पहुँचको पुनरावलोकन गर्ने प्रणाली पनि समावेश हुनसक्ने उल्लेख छ ।