






विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो घरमा भएको आगजनी घटनामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग निकटस्थ स्थानीय नेता समेत संलग्न रहेको खुलासा गरेका छन्।
सोमबार कान्तिपुर टेलिभिजनको ‘फायरसाइड’ कार्यक्रममा पत्रकार रुपेश श्रेष्ठसँगको कुराकानीमा थापाले भने, “मेरो घर जलाउन आएका मध्ये एक जना एमालेकै स्थानीय नेता थिए, जो ओलीजीसँग निकट थिए।”
उनका अनुसार आगजनीको दिन प्रदर्शनकारीहरू उनको घर घेरिरहेका बेला उनी घरमै थिए। “म त्यतिबेला सभापतिजीसँग सरकार छोड्नुपर्ने विषयमा कुरा गरिरहेको थिएँ, प्रचण्डजीसँग पनि कुरा भयो, प्रदीप पौडेलसँग फोनमा संवाद भइरहेको थियो,” उनले भने।
थापाका अनुसार घटनामा संलग्न केही व्यक्ति सरकारमै रहेका पुराना दलका नेता हुन्। “सरकारसँग रिस भएको भए, उनी आफैँ पनि त सरकारकै हिस्सा हुन्। उनले आन्दोलनको आक्रोशलाई व्यक्तिगत रूपमा प्रयोग गरे,” उनले आरोप लगाए।
थापाले सीसीटिभी फुटेजको आधारमा केही आरोपितहरूको विवरणसमेत दिएका छन्। उनले भने, “एक जना काभ्रेबाट आएका थिए, उमेरले पनि त्यति जेठा थिएनन्। उनी भर्खरै बलात्कार मुद्दाबाट छुटेका व्यक्ति हुन् र पहिले एक पुरानो दलमा आबद्ध थिए।”
महामन्त्री थापाका अनुसार आगजनी र तोडफोडमा पुराना मात्र होइन, नयाँ दलका केही नेताहरू समेत संलग्न थिए। “नयाँ दलमा जिम्मेवारी सम्हालिरहेका केही साथीहरू पनि देखिए। मैले पछि टेक्स्ट गरेर सोधेँ— ‘कस्तो लाग्यो मेरो घर?’” उनले स्मरण गरे।
उनले आन्दोलनमा धेरै युवाहरूको सहभागिता असन्तुष्टिका कारण भए पनि केही व्यक्तिले त्यसको दुरुपयोग गरेर नेताहरूको घर जलाउने र तोडफोड गर्ने कार्य गरेको बताए।
थापाले आफू र आफ्नो परिवार कसरी ज्यान जोगाएर बाहिर निस्किन सफल भए भन्नेबारे पनि बताए। साथै, भदौ २३ र २४ गतेका घटनालाई फरक दृष्टिकोणबाट हेर्नुपर्ने आवश्यकता रहेको उनले जोड दिए।
“नागरिक असन्तुष्ट छन् भन्ने कुरा सरकार र दलहरूले बुझ्न सकेनन्, यही हाम्रो गल्ती हो,” उनले भने।
अन्तमा उनले अझै पनि आफूलाई डर लागिरहेको बताउँदै, अवस्था सुधार गर्न सकिने विश्वास व्यक्त गरे।
उनले मंसिरमा कांग्रेसको महाधिवेशन हुने र फागुन २१ को निर्वाचनमा नयाँ नेतृत्वसहित पार्टी जाने तयारी भइरहेको जानकारी दिए।