






इलाम । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विपद् प्रभावित क्षेत्र इलाम जिल्लाको माङ्सेबुङ गाउँपालिकास्थित गजुरमुखी धामको स्थलगत निरीक्षण गरेका छन्।
मुख्यमन्त्री कार्कीले गजुरमुखी धाम पुगेर त्यहाँका विपद् प्रभावित परिवारहरूसँग भेटघाट गरी उनीहरूका समस्याबारे छलफल गरेका हुन्।
निरीक्षणका क्रममा मुख्यमन्त्री कार्कीसँगै माङ्सेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राई पनि सहभागी थिए। मुख्यमन्त्रीले प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिनुका साथै स्थानीय बासिन्दाका गुनासो र आवश्यकताहरूका बारेमा समेत छलफल गरेका थिए।
हालैको विपद्का कारण प्रभावित बनेका परिवारहरूलाई सरकारको तर्फबाट आवश्यक सहयोग र राहत उपलब्ध गराउने प्रतिबद्धता मुख्यमन्त्री कार्कीले व्यक्त गरेको बुझिएको छ। यस भ्रमणले विपद्पछिको पुनर्निर्माण र राहत कार्यलाई थप प्रभावकारी बनाउने कार्कीले बताए ।