Premier Cables
aarya

विराटनगर

आग्लोले हानेर श्रीमानले भाँचिदिए अनुहारका सबै हड्डी, कोसी अस्पतालमा छट्पटाई रहेकी छिन् दिलकुमारी

Calendar बुधबार, असार ०४, २०८२  | साँझ ५:३५ बजे

विराटनगर । कोसी प्रदेशको कोसी अस्पतालको आईसीयु कक्षमा ३१ वर्षीया दिलकुमारी यादव जीवन र मृत्युसँग संघर्ष गरिरहेकी छिन । उनको अनुहारमा लगभग १४ वटाजति टाँका लगाइएका छन् र दुवै आँखासमेत सुन्निएका छन् । अस्पतालका चिकित्सकका अनुसार उनको अनुहारका सबै हड्डी भाँचिएका छन् ।

दिलकुमारीको अनुहारमा ब्यान्डेजले छोपिएको छ । उनी बोल्न सक्दिनन् र इशाराले मात्र कुरा गर्छिन् । २३ दिन भयो १२ वर्षीया छोरा चन्दन मात्र हेरालु छन् अस्पतालमा । उनी आइसियु कक्ष बाहिरबाट आमाको अनुहार हेरेर भक्कानिन्छन् मात्रै । थप स्याहार गर्ने अभिभावक नहुँदा के गर्ने नगर्ने भन्ने द्विविधा रहेको उनको अनुहारमा प्रस्टै झल्किन्छ । दिलकुमारीको उपचारमा कोसी अस्पताललाई भ्याई नभ्याई जस्तै भएको छ ।

बिज्ञापन

खाना नपकाएको निहुँमा श्रीमान् कुशेश्वर यादवले उनलाई दानवीय शैलीमा कुटपिट गरेर यो अवस्था बनाई दिएका हुन् । ढोकाको आग्लोलो कयौं पटक रिसको झोंकमा कुटपिट गर्दा दिलकुमारीको अनुहारका सबै हड्डी भाँचिन पुगेको हो ।

जीवनमा सबैभन्दा सुरक्षित महसुस गर्नुपर्ने आफ्नै श्रीमानबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ७ की उनी आइसियु कक्षमा छट्पट्याई रहेकी छिन् । चिकित्सकका अनुसार उनको आँखाको नानीसमेत बाहिर निस्कन लागेको देखिन्छ ।

के हो घटना ?
गत जेठ ३ गते राति भएको घटना हो । भैँसी व्यापारी कुशेश्वर सधैँझैँ बाहिरबाट साँझ घर फर्किए । तर घरभित्र र बाहिरको कामले गर्दा व्यस्त रहेकी श्रीमतीले खाना पकाउन भ्याएकी थिइनन् । सोही निहुँमा श्रीमतीमाथि उनले आफ्नो पुरुषार्थ देखाए । श्रीमान् र श्रीमतीबीच झगडा सुरु भयो । दुई छोरामध्ये १२ वर्षीय जेठो छोरा चन्दन छिमेकीको विवाहमा गएका थिए । घरमा ६ वर्षीय कान्छो छोरा मात्र थिए । श्रीमान् र श्रीमतीको झगडा रातभर चलिरह्यो । बिहान उज्यालो हुँदा झगडाले उग्र रूप लियो र दानवीय ढंगले कुशेश्वरले आफ्नी श्रीमतीमाथि ढोकामा लगाउने आग्लोले श्रीमतीको मुखैमुखमा प्रहार गरे ।

श्रीमती नढलेसम्म उनले निरन्तर प्रहार गरिरहे जब श्रीमती शिथिल बनेर ढलिन् तब कुशेश्वर घरबाट बाहिर निस्किएर भागे
“म छिमेकीको घरमा सुतेको थिएँ, बिहान भाइ रुँदै आयो । दौडेर घर जाँदा ढोकाको छेउमा आमा रक्ताम्य भएर ढल्नु भएको देखें”, कोसी अस्पतालमा आमाको उपचारमा बसेका उनले,“त्यसपछि मैले छिमेकीलाई बोलाएँ । सबैजना भेला हुनुभयो । आमा बेहोस हुनुहुन्थ्यो । छिमेकीहरूले नै एम्बुलेन्स बोलाइदिए । भाइलाई के भयो आमालाई भन्दा बाबुले कुटेको भन्ने जवाफ दियो । छिमेकीहरूले १० हजार रुपैयाँ पैसा पनि दिनुभयो । अहिले आमाको उपचार गरिरहेको छु ।” आफू बाबुलाई भेट्न सुनसरी प्रहरी कार्यालयमा जाँदा आमालाई कस्तो छ भनेर सोधेको उनले सुनाए ।

यादव परिवार गाउँमा सामान्य खेती किसानी गर्दथ्यो । चन्दनले पनि एक वर्षअघिसम्म कक्षा चारमा ढे । अहिले स्कुल जाँदैनन् । पहिले जनमजदुरी गर्ने उनका बुवा तीन चार वर्षदेखि भैँसी व्यापार गर्दै आएका थिए । आमा भने भेट्दा ज्यालादारीको काम गर्थिन । “बुवा पहिले पनि झगडा गर्नुहुन्थ्यो तर दुई तीन थप्पडभन्दा बढी कुटेको थाहा छैन । यसपालि केमा झगडा सुरु भयो त्यो पनि थाहा छैन । बाबु जाँड रक्सी कहिल्यै खानुहुँदैनथ्यो,” चन्दनले भने ।

अस्पतालले गर्यो निःशुल्क उपचार
गत जेठ ४ गते बिहानै कोसी अस्पतालमा अनुहार पूरै कुच्चिएको र टाउकोदेखि पाउसम्म रगतले लतपतिएको अवस्थामा दिलकुमारी यादवलाई अस्पतालको इमर्जेन्सी कक्षमा भर्ना गरिएको थियो । प्रोफेसर डाक्टर बन्दना खनाल, डाक्टर सुधीर श्रेष्ठ, डाक्टर विवेककुमार महतो र डाक्टर जितेन्द्र मण्डलसहितको टोलीले उपचार सुरु गरेको थियो ।

सुरुमा त बिरामी देख्नासाथ स्वास्थ्यकर्मी र चिकित्सकहरु नै अत्तालिएको तर विस्तारै बिसेक हुँदै गएको चिकित्कस सुधीर श्रेष्ठले बताए । “मैले यस्ता धेरै केसको उपचार गरेको थिएँ तर मान्छेले मान्छेलाई कुटेको यति दर्दनाक अहिलेसम्म देखेको थिइनँ,” उनले भने । उनका अनुसार मानिसको अनुहारमा १४ वटा हड्डी हुन्छन् ती सबै फुटेका या त भाँच्चिएका छन् । यहाँसम्म कि आँखाको डिलको हड्डी फुटेर आँखाको दाना नै बाहिर निस्किएको उनले बताए । यो घटनालाई वास्तवमा भन्ने हो भने एउटा रफ्तारमा गुडिरहेको मोटरसाइकल रोकेर राखेको ट्रकमा गएर ठोक्किँदा जस्तो अवस्था हुन्छ त्यस्तै भएको चिकित्सक श्रेष्ठले बताए ।

अस्पतालमा चन्दनका आफन्त कोही छैन । कोसी अस्पतालमा पहिले पहिले घाउलाई नर्मल बनाएर जेठ २३ गते अप्रेसन गरिएको थियो । लगत्रै आईसीयूमा सिफ्ट गरियो । पाइपबाट खानेकुरा दिइएको छ । श्रेष्ठका अनुसार ठीक हुन्छ तर समय लाग्छ ।

अनुहार क्षतविक्षत अवस्थामा थियो । कपालतिर काटिएको मासु झुन्डिएको थियो ।अनुारका सबै हड्डी भाचिएको यो अवस्थालाई टेन्सियल फेसियल फ्र्याक्चर भनिन्छ । डाक्टर श्रेष्ठसहितको चार जना डाक्टरको टिमले उनको उपचार गरेको गरिरहेको छ । बिरामीको अनुहार र छातीमा आगोले पोलेको दागसमेत भेटिएको त । उनको उपचार अहिलेसम्म कोसी अस्पतालले निःशुल्क गरिरहेको छ । लैङ्गिक हिंसाका पीडितहरूलाई तत्काल र समग्र रूपमा सहयोग पु¥याउन स्थापना गरिएको सेवा अन्तर्गत पीडितलाई उपचार गरिरहेको श्रेष्ठले बताएका छन् ।

अस्पतालकी नर्सिङ निरीक्षक अनिता राउतले भनिन्,“ुअप्रेसन गर्ने बेलामा हस्ताक्षर गर्ने आफन्त नभएर आमा कुर्न बसेका नाबालक छोरालाई सिटमा हालेर आफन्तको घरमा गएर हस्ताक्षर गरेर ल्याउनुप¥यो” उनका अनुसार अस्पतालले औषधि खर्चदेखि बेहोरिरहेको छ । कुरुवा छोरालाई खानाको समेत प्रबन्ध गरिदिएको छ । “मैले यस्तो निर्ममतापूर्वक मान्छेले मान्छेलाई कुटेको भन्ने कल्पना पनि गरेको थिइनँ । त्यो पनि आफ्नै श्रीमानले,” राउतेले भनिन् ।

श्रीमान प्रहरी हिरासतमा
जिल्ला प्रहरी कार्यालय सुनसरीमा पीडित महिलाकी भाई बुहारीले कुशेश्वरविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेकी छिन् । प्रहरीले घटनाको एक दिनपछि जेठ ५ गते उनकै घरबाट कुशेश्वरलाई पक्राउ गरेको थियो । प्रहरीले थप अनुसन्धानका लागि अदालतबाट म्याद थप गरेको छ । घटनास्थलबाट सात वटा दाँतसहित खुर्पा प्रयोग गरेको र रगत लागेको आग्लो बरामद भएको घटनाको अनुसन्धानमा खटिएकी प्रहरी निरीक्षक सबिना लिम्बूले बताइन ।

कोसी प्रदेशमा चालू आर्थिक वर्षको वैशाखसम्म मात्र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकविरुद्ध हुने ६९१ वटा हिंसाका घटना प्रहरीसमक्ष पुगेका छन् । कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार जवरजस्ती करणीका ३८७ वटा हिंसाका घटना भएका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Hamrobiratnagar Ads
Eastern College
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
ACS

विराटनगर

हेर्नै पर्ने भिडियो