






सांकेतिक तस्बीर
बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिकामा एक युवतीको सामूहिक कुटपिटबाट मृत्यु भएको छ। वैवाहिक सम्बन्धमा देखिएको विवाद र रिसइबीका कारण भएको आक्रमणमा २२ वर्षीया गंगा राईको ज्यान गएको हो।
इलाका प्रहरी कार्यालय बिर्तामोडका अनुसार अर्जुनधारा–८ शनिश्चरे क्याम्पस नजिक डेरा गरी बस्दै आएकी गंगामाथि मंगलवार राति सामूहिक आक्रमण गरिएको थियो। मृतकको स्थायी घर अर्जुनधारा–४ भाङवारीमा पर्छ।
प्रहरी अनुसन्धानअनुसार अर्जुनधारा–८ मै बस्दै आएकी ३२ वर्षीया सुस्मिता भुसालले आफ्ना पति रमेश भुसाल गंगाको कोठामा गएको थाहा पाएपछि रिसमा टोलका पाँचजना महिलालाई बोलाएर गंगामाथि योजनाबद्ध रूपमा आक्रमण गराएकी थिइन्।
कुटपिटमा संलग्नहरूमा ५४ वर्षीया मैया श्रेष्ठ, ३८ वर्षीया बबिता विक, २४ वर्षीया मेनुका पाँचकोटी, ६० वर्षीया नर्बदा सुनदाससहित सुस्मिता भुसाल स्वयं सहभागी भएको प्रहरीले जनाएको छ।
घाइते गंगालाई तत्काल शनिश्चरेको शंकर अस्पतालमा पुर्याइएको थियो। त्यहाँबाट थप उपचारका लागि बिर्तासीटी अस्पताल लगिए पनि बुधबार राति उपचारकै क्रममा उनको मृत्यु भएको हो।
प्रहरीले सुस्मिता भुसाल, उनका पति रमेश भुसाल र आक्रमणमा संलग्न अन्य महिलाहरूलाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानमा यो घटना पूर्वयोजना अनुसार भएको पुष्टि भएको प्रहरीको भनाइ छ।
घटनाको विस्तृत छानबिनका लागि प्रहरीले सबैको बयान लिने प्रक्रिया अघि बढाएको छ। साथै, सीसीटीभी फुटेज, मोबाइल कल विवरण र अन्य डिजिटल प्रमाण संकलनको काम भइरहेको बताइएको छ।
प्रहरीले घटनालाई पारिवारिक तनाव, असहिष्णुता र प्रतिशोधको घातक परिणामको रूपमा व्याख्या गर्दै संलग्नहरूमाथि कर्तव्य ज्यानअन्तर्गत मुद्दा दायर गर्ने तयारी गरिरहेको छ।