काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाली वित्तीय क्षेत्रले भारतमा नेपाली बैंक तथा वित्तीय संस्थाका मोबाइल एपबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न पाउने सुविधा सुरु हुने अपेक्षा गरेको थियो। तर, भ्रमणका क्रममा यस विषयमा सहमति हुन सकेन।
नेपाल र भारतबीच जारी संयुक्त भिजन दस्तावेजमा सीमापार डिजिटल भुक्तानी प्रणाली कार्यान्वयनलाई तीव्रता दिने उल्लेख गरिए पनि नेपालीले भारतमा क्यूआरबाट भुक्तानी गर्न पाउने विषय भने अझै टुंगोमा पुगेको छैन।
हाल भारतबाट नेपाल आउने पर्यटकले भारतीय बैंक तथा वित्तीय संस्थाका मोबाइल एप प्रयोग गरेर नेपालमा क्यूआरमार्फत भुक्तानी गर्न सक्छन्। तर नेपालबाट भारत जाने नेपालीले भने अझै नगद वा कार्डकै भर पर्नुपर्ने अवस्था छ।
यसले भारतमा अध्ययन, उपचार, भ्रमण तथा अन्य कामका लागि जाने नेपालीलाई समस्या भइरहेको छ। व्यक्तिगत रूपमा भारतबाट अनलाइन सामान खरिद गर्दा पनि भुक्तानी गर्न सहज छैन।
सरकारी अधिकारीहरूले यस विषयमा सहमति हुन नसक्नुको कारण स्पष्ट रूपमा सार्वजनिक गरेका छैनन्। तर स्रोतका अनुसार भारतले नेपालबाट हुने डिजिटल कारोबारमा साइबर जोखिम र वित्तीय अपराध नियन्त्रणका विषयमा थप सुनिश्चितता खोजिरहेको छ।
दुई देशबीच जारी संयुक्त भिजन दस्तावेजको दोस्रो बुँदाको छैटौँ नम्बरमा भारतको युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) र नेपालको राष्ट्रिय भुक्तानी प्रणालीलाई एकीकृत गर्दै सीमापार खुद्रा भुक्तानी कार्यान्वयनलाई तीव्रता दिने उल्लेख छ।
डिजिटल भुक्तानी विज्ञ सञ्जीव सुव्वाका अनुसार तत्काल नेपाल र भारतबीच दुई प्रकारका भुक्तानी सेवा सुरु गर्न आवश्यक छ। ती हुन्– पर्सन टु मर्चेन्ट (पीटुएम) र पर्सन टु पर्सन (पीटुपी)।
पीटुएम भनेको व्यक्तिले पसल, होटल वा अन्य व्यावसायिक संस्थालाई क्यूआरमार्फत गर्ने भुक्तानी हो। पीटुपी भनेको एक व्यक्तिले अर्को व्यक्तिलाई डिजिटल माध्यमबाट रकम पठाउने प्रणाली हो।
अहिले भारतबाट नेपाल आउने पर्यटकले यूपीआई र फोनपेमार्फत पशुपतिनाथ, मुक्तिनाथ, होटल तथा रेस्टुरेन्टमा भुक्तानी गर्न सकिरहेका छन्। तर नेपाली पर्यटक, विद्यार्थी, बिरामी र तीर्थयात्रीले भारतमा नेपाली बैंकको एपबाट क्यूआर भुक्तानी गर्न पाएका छैनन्।
त्यस्तै, पीटुपी सेवा सुरु भएमा भारतमा काम गर्ने नेपालीले आफ्नो परिवारलाई र नेपालमा काम गर्ने भारतीयले आफ्नो देशमा सहज रूपमा रकम पठाउन सक्नेछन्। सानो रकम आफन्त तथा साथीभाइलाई पठाउन पनि यो सेवा उपयोगी हुने सुव्वाको भनाइ छ।
उनका अनुसार दुवै प्रकारका भुक्तानी सेवा प्राविधिक रूपमा सम्भव छन्। नेपाल र भारतका भुक्तानी सेवा प्रदायकसमेत यसका लागि तयार छन्। तर नियामकीय व्यवस्था र दुई देशबीचको क्षेत्राधिकारसम्बन्धी विषय समाधान हुन बाँकी छ।
**व्यापारिक तथा सरकारी भुक्तानी तत्काल सम्भव छैन**
पीटुएम र पीटुपी सेवा सुरु हुँदैमा नेपाल–भारतबीचका सबै प्रकारका भुक्तानी डिजिटल माध्यमबाट हुने भने होइन।
नेपालले भारतबाट वार्षिक करिब ७ अर्ब अमेरिकी डलर बराबरको वस्तु औपचारिक रूपमा आयात गर्दै आएको छ। खुला सीमाका कारण अनौपचारिक व्यापार र भुक्तानीको हिस्सा पनि ठूलो छ।
हाल ठूला व्यापारिक कारोबार लेटर अफ क्रेडिट (एलसी), बिल अफ कलेक्सन र बैंकिङ स्विफ्ट प्रणालीमार्फत हुँदै आएका छन्।
त्यस्तै, भारत सरकारले पूर्वगोर्खा सैनिकलाई दिने पेन्सनलगायत सरकारी तहका भुक्तानी पनि परम्परागत बैंकिङ प्रणालीबाटै हुने गरेका छन्।
व्यापारिक तथा सरकारी भुक्तानी संवेदनशील विषय भएकाले तत्काल डिजिटल प्रणालीमा लैजाने योजना नरहेको सुव्वाको भनाइ छ। उनका अनुसार पहिलो चरणमा सर्वसाधारण र कामदारका लागि उपयोगी पीटुएम तथा पीटुपी सेवा सुरु गर्न सके भविष्यमा ठूला कारोबारलाई समेत डिजिटल प्रणालीमा जोड्ने बाटो खुल्नेछ।
