Premier Cables
Premier Steel

अपराध

बराह ग्रुपका अध्यक्ष शिवकुमार लामिछाने पक्राउ

Hamro Biratnagar News Channel Calendar बुधबार, मंसिर ०२, २०८३  | अपराह्न ३:२१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । धरानस्थित बराह सहकारीको अर्बौं रुपैयाँ हिनामिना गरेको आरोप लागेका बराह ग्रुपका अध्यक्ष शिवकुमार विश्वकर्मा (लामिछाने) पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई पक्राउ गरेको हो । उनी लामो समयदेखि फरार रहँदै आएका थिए ।

विज्ञापन

गृहमन्त्री सुदन गुरुङले बुधबार सामाजिक सञ्जालमार्फत लामिछाने पक्राउ परेको जानकारी दिएका छन् । उनका अनुसार बराह सहकारीमा ५ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको छ । उक्त प्रकरणका मुख्य योजनाकार भनिएका व्यक्तिलाई कानुनी दायरामा ल्याउन सफल भएको उनले बताएका छन् ।

प्रहरीका अनुसार बराह सहकारी तथा ग्रुपसँग सम्बन्धित रकम अपचलन प्रकरणमा लामिछानेको मुख्य भूमिका रहेको आरोप छ । यसअघि प्रहरी अनुसन्धानका आधारमा उनीसहित २६२ जनाविरुद्ध जिल्ला अदालत सुनसरीमा मुद्दा दायर भएको थियो ।

अभियोगपत्रअनुसार बराह सहकारीको १० अर्ब ७३ करोड ४३ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना भएको दाबी गरिएको छ । त्यसमध्ये शिवकुमार लामिछानेबाट मात्रै ५ अर्ब ८८ करोड ४० लाख रुपैयाँभन्दा बढी असुल गर्नुपर्ने उल्लेख छ ।

अनुसन्धानमा सर्वसाधारणले सहकारीमा जम्मा गरेको बचत तथा सेयरबापतको रकम व्यक्तिगत सम्पत्ति खरिद र बराह ग्रुपअन्तर्गतका विभिन्न कम्पनीमा लगानी गरिएको पाइएको थियो ।

यस प्रकरणमा ४ हजारभन्दा बढी बचतकर्ताले उजुरी दिएका छन् । उनीहरूले करिब ५ अर्ब ८५ करोड रुपैयाँ बचत फिर्ताको माग गरेका छन् ।

बराह सहकारीको रकम अपचलनबाट प्रभावित बचतकर्तालाई न्याय दिलाउन सरकार प्रतिबद्ध रहेको गृहमन्त्री गुरुङले बताएका छन् । घटनामा संलग्न अन्य व्यक्तिको खोजी गरी कानुनी कारबाहीको दायरामा ल्याउने प्रक्रिया पनि अघि बढाइने उनको भनाइ छ ।

लामिछानेको पक्राउसँगै बराह सहकारीको रकम हिनामिना प्रकरणमा थप अनुसन्धान र अन्य फरार आरोपितको खोजी अघि बढ्ने अपेक्षा गरिएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka