काठमाडौँ । सेयर बजारमा ‘कप विथ ह्यान्डल’ आकृति बन्ने सम्भावना कमजोर देखिएसँगै नेप्सेमा तत्काल सुधार आउने सम्भावनाबारे लगानीकर्तामाझ अन्योल बढेको छ। यद्यपि, प्राविधिक विश्लेषणअनुसार बजारले अझै स्पष्ट दिशा तय गरिसकेको छैन।
नेप्सेको बोलिङ्गर ब्यान्डले भने बजारले हालको तहमा टेवा पाएर पुनः बढ्न सक्ने संकेत गरेको छ। मंगलबार कारोबारका क्रममा नेप्से बोलिङ्गर ब्यान्डको औसत रेखा २ हजार ६२९ विन्दुसम्म झरेर फर्किएको थियो। कारोबार बन्द हुँदा सूचक २ हजार ६३६ विन्दुमा कायम रह्यो। उक्त दिन नेप्से १२.७९ अंकले घटेको थियो।
बजारमा अहिले उतारचढाव बढेको देखिन्छ। बोलिङ्गर ब्यान्डको माथिल्लो र तल्लो सीमा फराकिलो हुनुले बजारमा अस्थिरता बढेको संकेत गर्छ। यसले बजार घट्ने र बढ्ने दुवै सम्भावना बलियो रहेको देखाउँछ।
ब्रोकरहरूका अनुसार पछिल्लो समय नेप्से घट्नुका मुख्य चार कारण छन्।
पहिलो, यसअघि मूल्य बढेका वाणिज्य बैंकलगायतका कम्पनीमा लगानीकर्ताले नाफा सुरक्षित गरिरहेका छन्। दोस्रो, लकिङ अवधि सकिएका कम्पनीका सेयर बिक्रीमा आउँदा बजारमा आपूर्ति बढेको छ। घोराही, श्वेतगंगा र हाथवे इन्भेस्टमेन्टजस्ता कम्पनीको सेयर कारोबारमा यसको प्रभाव देखिएको छ।
तेस्रो, अधिकांश कम्पनीको पहिलो त्रैमासिक वित्तीय विवरण अपेक्षाअनुसार उत्साहजनक नआउनु हो। बैंकिङ, जलविद्युत् र केही उत्पादनमूलक कम्पनीको अवस्था राम्रो देखिए पनि अन्य क्षेत्रमा अपेक्षित सुधार नहुँदा बजार प्रभावित भएको छ।
चौथो, पछिल्लो राजनीतिक घटनाक्रम हो। छठपछि आन्दोलन हुन सक्ने चर्चासँगै सरकार प्रमुखको भारत भ्रमण र त्यसपछिको राजनीतिक वातावरण कस्तो बन्छ भन्ने प्रतीक्षामा लगानीकर्ता छन्।
यी कारणले गर्दा अहिले धेरै लगानीकर्ता ‘पर्ख र हेर’ को अवस्थामा छन्। आगामी राजनीतिक घटनाक्रम, कम्पनीहरूको वित्तीय अवस्था र बजारको प्राविधिक संकेतले नै नेप्सेको आगामी दिशा निर्धारण गर्ने देखिन्छ।
