Premier Cables
Premier Steel

राष्ट्रिय

प्रधानमन्त्री बालेनको भारत भ्रमण: एजेन्डा तय हुँदै

Hamro Biratnagar News Channel Calendar मंगलबार, मंसिर ०१, २०८३  | बिहान ९:२५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को भारत भ्रमण छोट्याउने तयारी गरिएको छ। यसअघि तीन दिनसम्म भारतमा रहने चर्चा भए पनि अब भ्रमण अवधि करिब २५ घण्टामा सीमित गर्ने तयारी भएको हो।

उच्च सरकारी स्रोतका अनुसार प्रधानमन्त्री शाह मंसिर ६ गते दिउँसो १ः२५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानबाट नयाँदिल्ली प्रस्थान गर्नेछन्। उनी मंसिर ७ गते अपराह्न ४ः२० बजे सोही निगमको उडानबाट स्वदेश फर्कने कार्यक्रम छ।

विज्ञापन

निर्धारित तालिकाअनुसार प्रधानमन्त्री शाह नेपाली समयअनुसार मंसिर ६ गते अपराह्न करिब ३ बजे दिल्ली पुग्नेछन्। त्यहाँ उनले करिब २५ घण्टा बिताउनेछन्। यद्यपि, भ्रमणको औपचारिक घोषणा र विस्तृत कार्यतालिका सार्वजनिक हुन बाँकी छ। भ्रमणको तयारी र समन्वयका लागि पर्यटनमन्त्री गनेश पौडेल मंगलबार दिल्ली जाने बताइएको छ।

प्रधानमन्त्रीको भ्रमण छोटो भए पनि नेपालले उठाउने एजेन्डा भने महत्त्वपूर्ण र लामो सूचीमा छन्। भ्रमणका क्रममा दुई देशबीच लामो समयदेखि समाधान हुन नसकेका द्विपक्षीय विषयलाई प्राथमिकतामा राख्ने तयारी छ।

नेपालले भारतसँग अनुदान र सहुलियतपूर्ण ऋण गरी कुल २ खर्ब भारतीय रुपैयाँ बराबरको आर्थिक सहयोग माग गरेको स्रोतको दाबी छ। प्रस्तावअनुसार १ खर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र १ खर्ब रुपैयाँ अनुदान माग गरिएको छ।

अनुदानस्वरूप प्राप्त हुने रकममध्ये ५० अर्ब रुपैयाँ रसुवा बाढीपछिको पुनर्निर्माण र बाँकी ५० अर्ब रुपैयाँ बुटवल–पोखरा एक्सप्रेसवे निर्माणमा खर्च गर्ने नेपालको प्रस्ताव छ। यस विषयमा भारत सकारात्मक रहेको परराष्ट्र स्रोतको भनाइ छ।

हवाई रुटदेखि रेलमार्गसम्मका विषय प्राथमिकतामा
भ्रमणका क्रममा नेपालले थप हवाई रुट उपलब्ध गराउने विषयलाई पनि प्राथमिकताका साथ उठाउनेछ। नेपालका प्रमुख सहर र भारतका दोस्रो तहका सहरबीच सीधा हवाई सेवा सञ्चालन गर्ने विषयमा सहमति जुटाउने नेपालको प्रयास रहनेछ।

त्यस्तै, रक्सौल–काठमाडौं रेलमार्ग, अयोध्या–जनकपुर रेल सेवा र सीमापार पेट्रोलियम पाइपलाइन निर्माणका विषयमा पनि छलफल तथा सम्भावित सम्झौताको तयारी छ।

तीन दशकअघि महाकाली सन्धि भए पनि अघि बढ्न नसकेको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई गति दिन नेपालले भारतसँग आग्रह गर्नेछ। तर, यस परियोजनामा बृहत्तर राजनीतिक सहमति आवश्यक रहेको भारतको धारणा छ।

ऊर्जा र सिँचाइसम्बन्धी विषय पनि भ्रमणका महत्त्वपूर्ण एजेन्डा हुनेछन्। माथिल्लो तामाकोशीलगायत चिनियाँ ठेकेदार संलग्न आयोजनाबाट उत्पादित विद्युत् भारतले आयात गर्नुपर्ने प्रस्ताव नेपालले गर्नेछ। त्यसैगरी, बंगलादेशमा थप विद्युत् निर्यातका लागि भारतको सहजीकरण र महाकाली तेस्रो सिँचाइ आयोजनाका लागि १० क्युमेक पानी उपलब्ध गराउनुपर्ने विषय पनि उठाइनेछ।

प्रधानमन्त्री शाहको भ्रमण टोलीमा भौतिक पूर्वाधारमन्त्री सुनील लम्साल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र पर्यटनमन्त्री गनेश पौडेललगायत सहभागी हुनेछन्।

नयाँ सरकार गठन भएपछि प्रधानमन्त्री शाहले एक वर्षसम्म विदेश भ्रमण नगर्ने बताएका थिए। तर, गत सेप्टेम्बरको तेस्रो साता संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन उनी अमेरिकाको न्युयोर्क पुगेका थिए। महासभालाई सम्बोधन गरेर तत्काल स्वदेश फर्किएका शाहले भारत भ्रमण पनि छोटो समयमै सम्पन्न गर्ने तयारी गरेका हुन्।

प्रधानमन्त्रीको दिल्ली बसाइ करिब २५ घण्टाको हुने भए पनि आर्थिक सहयोग, हवाई सेवा, रेलमार्ग, ऊर्जा, सिँचाइ र पूर्वाधार निर्माणजस्ता विषयमा नेपालका एजेन्डा भने लामै छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka