काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको प्लेअफ आजदेखि सुरु हुँदैछ। पहिलो क्वालिफायरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे ४ बजे सुरु हुने खेलमा जित निकाल्ने टोली सोझै फाइनलमा पुग्नेछ। लिग चरणमा लुम्बिनी ११ अंकसहित शीर्ष स्थानमा रहँदा सुदूरपश्चिम १० अंक जोडेर दोस्रो भएको थियो।
लुम्बिनीले जारी प्रतियोगितामा सुरुदेखि नै राम्रो तालमेल देखाएको छ। टोलीमा डार्ली सर्ट, आशिफ शेख र निरोशन डिक्वेलाले ब्याटिङमा महत्त्वपूर्ण योगदान दिइरहेका छन्। कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा बलिङतर्फ किशोर महतो, शेर मल्ल र रुबेन ट्रम्पेलमन मुख्य हतियारका रूपमा छन्।
यता सुदूरपश्चिमले सुरुआती तीन खेलमा संघर्ष गरे पनि पछिल्ला चार खेलमा लगातार जित निकाल्दै क्वालिफायरमा स्थान बनाएको हो। कप्तान दीपेन्द्रसिंह ऐरी, ब्रान्डन म्याकमुलेन र सैफ जैब टोलीका प्रमुख खेलाडी हुन्। बलिङमा अनिल खरेलले पनि प्रभावशाली प्रदर्शन गरिरहेका छन्।
यी दुई टोलीबीच लिग चरणमा भएको पहिलो भेटमा लुम्बिनीले सुदूरपश्चिमलाई ७ विकेटले पराजित गरेको थियो। त्यसैले आजको खेल सुदूरपश्चिमका लागि बदला लिने अवसरसमेत हुनेछ।
लुम्बिनी दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा रहँदा यसअघि दुई पटक फाइनल पुगेर पनि उपाधि जित्न नसकेको सुदूरपश्चिम यसपटक इतिहास रच्ने योजनामा छ। पहिलो क्वालिफायरको नतिजाले फाइनल पुग्ने पहिलो टोलीको टुंगो लगाउनेछ।
