विराटनगर । नेपाली कांग्रेसको मोरङ जिल्ला अधिवेशन मंसिर १ गते विराटनगरमा आयोजना हुने भएको छ ।
गगन थापा इतर समूहले विराटनगरको जैन भवनमा जिल्ला अधिवेशन गर्ने तय गरेको निर्वाचन समितिले जनाएको छ ।
समितिका सदस्य रुपेश कोइरालाले दिएको जानकारीअनुसार जिल्लाका सबै क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेकोले अब जिल्ला अधिवेशन गर्ने तय भएको हो ।
यसअघि जिल्लाभरका सबै वडा अधिवेशन गरिएको थियो । जिल्ला अधिवेशनबाट नयाँ कार्यसमिति चयन हुने छ ।
अधिवेशनमा ४२०० प्रतिनिधि सहभागी हुने र उद्घाटन नियमित महाधिवेशन आयोजक समितिका संयोजक नेता डा. शशांक कोइरालाले गर्ने बताइएको छ । नेता केदार कार्कीले जिल्ला पछि कोशी प्रदेश अधिवेशन हुने जानकारी दिए ।
यसअघि भएको क्षेत्रीय अधिवेशनबाट क्षेत्रीय सभापतिहरुमा मोरङ १ बाट सोम तिम्सिना, २ मा काशिराज साह, ३ मा धनबहादुर बस्नेत, ४ मा प्रवेश विश्वास, ५ मा शिवनारायण सिंह र ६ मा विजय चौधरी निर्वाचित भएका थिए ।
‘‘सबै क्षेत्रीय अविधेशन सकिएपछि जिल्ला अधिवेशन गर्ने तयारी भएको हो,’’ कोइरालाले भने ।
जिल्ला सभापतिको दौडमा मुख्यगरी तीनजनाबीच प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । जसअनुसार विनायक पन्त, खेम थापा र सुभाष पौडेल सभापतिको दौडमा रहेका छन् ।
विद्यार्थी तथा युवा नेतृत्व हुँदै कांग्रेसको जिल्लास्तरीय राजनीतिमा उदाएका थापा सामाजिक कार्यमा समेत सक्रिय छन् । विराटनगरमा युवामाझ लोकप्रिय मानिएका थापाले यसअघि पार्टीका विभिन्न तहमा बसेर काम गरेका थिए ।
यसैगरी पन्तसमेत सामाजिक गतिविधि तथा पार्टीको राजनीतिमा लामो समयदेखि लागिरहेका छन् । पन्तले आफूलाई सामाजिक सेवकको रुपमा समेत स्थापित गरेका छन् ।
पुराना नेताको रुपमा जिल्लास्तरमा परिचय स्थापित गरेका पौडेल पनि चिनिएका व्यक्तित्व हुन् । उनी पार्टीको तल्लो तहमा निक्कै सक्रिय रहेका छन् । अब जिल्ला तहको नेतृत्वमा पुगेर पार्टी संचालन गर्ने तयारीसाथ उनले सभापतिमा दाबेदारी प्रस्तुत गरेका छन् । अधिवेशनबाट नेतृत्व चयन गर्दा सर्वसम्मतिको प्रयास हुने बताइएको छ ।
