जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी कात्तिक २८ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। उनले दिउँसो १ बजे विश्वासको मत लिने तयारी गरेका हुन्।
प्रदेश सरकारलाई समर्थन दिएका नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन्।
मुख्यमन्त्री यादवका अनुसार विश्वासको मत लिन आवश्यक प्रक्रिया अघि बढाउन प्रदेशसभा सचिवालयलाई बैठक आह्वानका लागि पत्राचार गरिनेछ। विश्वासको मत जुटाउन विभिन्न राजनीतिक दलसँग छलफल भइरहेको र मतदानको समयसम्म संवाद जारी रहने उनले बताएका छन्।
यसअघि नेपाली कांग्रेस नेतृत्वको मधेश प्रदेश सरकारमा सहभागी एमालेका चार मन्त्रीले गत असोज २५ गते सामूहिक राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए। त्यसैगरी, नेपाली कम्युनिष्ट पार्टीका चार मन्त्रीले कात्तिक २० गते राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता गरेका थिए।
दुवै दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव सरकारको बहुमत जोगाउने प्रयासमा जुटेका छन्।
१०७ सदस्यीय मधेश प्रदेशसभामा सरकार टिकाउन कम्तीमा ५४ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेशसभामा नेपाली कांग्रेसका २२, नेकपा एमालेका २३, जसपा नेपालका २७, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन्। त्यस्तै, संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद रहेका छन्।
विश्वासको मत प्राप्त गर्न मुख्यमन्त्री यादवलाई अन्य दल तथा सांसदहरूको समर्थन जुटाउनुपर्ने चुनौती छ।
