काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा लुकिछिपी गैरकानुनी रूपमा बसोबास गर्दै आएका पाँचजना विदेशी नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल, नेपालले सोमबार साँझ एपीएफ इन्टेलिजेन्स ब्यूरो र सशस्त्र प्रहरी बल नेपाल नं. १८ गणको संयुक्त टोली परिचालन गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा बंगलादेशी नागरिक मोहम्मद कुर्वान अलि, जाहिंगिर आलम, रोनित रोय चौधरी, अकम अब्ल्लाह र बंगलादेशी मूलका ब्राजिलियन नागरिक रफत मिहा रहेका छन् ।
प्रहरीले रोनित रोय चौधरी बस्दै आएको कोठामा खानतलासी गर्दा नौजना बंगलादेशी नागरिकका १४ थान राहदानी फेला पारेको छ । त्यस्तै, ठूलो रकमको आर्थिक लेनदेनसम्बन्धी विवरण उल्लेख गरिएका दुई थान डायरीसमेत बरामद गरिएको छ ।
नियन्त्रणमा परेका जाहिंगिर आलममाथि एकजना बंगलादेशी नागरिकलाई अपहरण गरी बन्धक बनाएको अभियोगमा जिल्ला अदालत काठमाडौंमा मुद्दा विचाराधीन रहेको खुलेको छ । उनी २०८० चैत १३ गतेदेखि उक्त मुद्दामा अदालतमा तारिख धाउँदै आएको बताइएको छ ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार नियन्त्रणमा लिइएका पाँचै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रियाका लागि अध्यागमन विभागमा बुझाइएको छ ।
