काठमाडौं । पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सडक डिभिजन कार्यालय इलामले मेची कोरिडोर (मदन भण्डारी राजमार्ग) मा पर्ने सुखानी पक्की पुल निर्माणको ठेक्का तोडेको छ ।
कार्यालयले आज सार्वजनिक सूचना जारी गर्दै लामो समयदेखि अलपत्र अवस्थामा रहेको पुल निर्माणको ठेक्का सम्झौता अन्त्य गरिएको जानकारी दिएको हो ।
सडक डिभिजन कार्यालयका अनुसार पुल निर्माणका लागि करिब १४ वर्ष ४ महिनाअघि काठमाडौंस्थित स्काई–अजम्बर–शिवराम जेभीसँग सम्झौता भएको थियो ।
कुल १ करोड ६२ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का पाएको उक्त कम्पनीले २०७२ सालदेखि निर्माण कार्य अघि बढाएको थिएन । निर्माणस्थल छाडेर सम्पर्कविहीनजस्तै बनेपछि पुल निर्माणको काम वर्षौंदेखि अलपत्र परेको थियो ।
लामो समयसम्म निर्माण कार्य सम्पन्न नभएपछि सडक डिभिजन कार्यालयले ठेक्का सम्झौता तोड्ने निर्णय गरेको हो ।
