Premier Cables
Premier Steel

खेलकुद

एनपीएल : दोस्रो जितको खोजीमा जनकपुर, सुखद सुरुवात गर्ने लक्ष्यमा काठमान्डु

Hamro Biratnagar News Channel Calendar बिहिबार, कार्तिक १३, २०८३  | बिहान १०:०९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत बिहीबारको पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। पहिलो खेलमा पराजित जनकपुर दोस्रो खेलमा जित निकाल्ने लक्ष्यसहित मैदान उत्रँदा काठमान्डु भने प्रतियोगितामा सुखद सुरुवात गर्न चाहन्छ।

पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित जनकपुरका लागि यो खेल निकै महत्त्वपूर्ण छ। अर्कोतर्फ, राष्ट्रिय टोलीका अनुभवी खेलाडी र विदेशी खेलाडीको संयोजन रहेको काठमान्डु पहिलो खेलमै आफ्नो क्षमता प्रमाणित गर्न चाहन्छ।

विज्ञापन

जनकपुरले पहिलो खेलमा १३३ रनको लक्ष्य पछ्याउने क्रममा ११३ रन मात्रै बनाउन सकेको थियो। ब्याटिङमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको टोलीले यसपटक आफ्नो कमजोरी सुधार्नुपर्नेछ। कप्तान हर्मीत सिंहले पनि पहिलो खेलपछि ब्याटिङमा सुधार आवश्यक रहेको स्वीकार गरेका थिए।

जनकपुरको ब्याटिङमा मोइन अली, जिमी नीशम र कुसल परेराजस्ता अनुभवी विदेशी खेलाडी छन्। तर, पहिलो खेलमा उनीहरूले अपेक्षित साझेदारी बनाउन सकेनन्। त्यसैले दोस्रो खेलमा टोलीको शीर्षक्रम र मध्यक्रमको प्रदर्शन निर्णायक बन्न सक्छ।

पाकिस्तान क्रिकेट बोर्डले आफ्ना खेलाडीलाई एनपीएल खेल्न रोक लगाएपछि जनकपुरले टोलीमा फेरबदल गर्नुपरेको थियो। त्यसपछि टोलीले परवेज हसन इमोन र सेफ हसनलाई अनुबन्ध गरेको छ। उनीहरूले आजको खेलमा मौका पाउँछन् वा पाउँदैनन् भन्ने चासोको विषय बनेको छ।

यता, काठमान्डु गोर्खाजले यस सिजनका लागि अस्ट्रेलियाका स्टार ब्याटर डेभिड वार्नरसहित तीन अस्ट्रेलियन खेलाडी अनुबन्ध गरेको छ। तर, वार्नर नेपाल आइपुगेका छैनन्। उनको अनुपस्थितिमा उपलब्ध विदेशी खेलाडी र नेपाली खेलाडीको प्रदर्शनले टोलीको सुरुवात निर्धारण गर्नेछ।

हेड टु हेडमा बराबरी

एनपीएलका अघिल्ला दुई संस्करणमा जनकपुर र काठमान्डुबीच एक–एक जितको नतिजा छ। सन् २०२४ मा जनकपुरले काठमान्डुलाई पाँच विकेटले हराएको थियो भने सन् २०२५ मा काठमान्डुले पनि पाँच विकेटकै जित निकालेको थियो।

यससँगै दुवै टोलीलाई एकअर्काविरुद्ध अग्रता बनाउने अवसर हुनेछ। जनकपुर आफ्नो अघिल्लो हारको बदला लिने प्रयासमा हुनेछ भने काठमान्डु जितबाट प्रतियोगिताको सुरुवात गर्न चाहन्छ।

सम्भावित प्लेइङ–११

जनकपुरले पहिलो खेलमा खेलेका अधिकांश खेलाडीलाई निरन्तरता दिन सक्ने सम्भावना छ। नयाँ अनुबन्धित खेलाडीको उपलब्धता र टोलीको रणनीतिअनुसार अन्तिम ११ मा परिवर्तन हुन सक्छ।

जनकपुर बोल्ट्सको सम्भावित ११: तृतराज दास, मयन यादव, अनिल साह, मोइन अली, कुसल परेरा, हर्मीत सिंह, जिमी नीशम, इफ्तिखार अहमद, हुसेन शाह, ललित राजवंशी र राहुल यादव।

काठमान्डु गोर्खाजमा करण केसी, भीम सार्की, राशिद खान र आदिल आलमजस्ता खेलाडी महत्त्वपूर्ण भूमिकामा देखिन सक्छन्। विदेशी खेलाडीमा स्मित पटेल, विल बोसिस्टो, केएस भरत र सहान अराचिगेलाई अवसर मिल्न सक्ने सम्भावना छ।

काठमान्डु गोर्खाजको सम्भावित ११: स्मित पटेल, केएस भरत, भीम सार्की, राशिद खान, आदिल आलम, विल बोसिस्टो, सहान अराचिगे, सोनु देवकोटा, प्रसिद्ध जैसी, करण केसी र शाहब आलम।

यी खेलाडीमा रहनेछ नजर

जनकपुरका कप्तान हर्मीत सिंह ब्याटिङ र बलिङ दुवैमा प्रभाव पार्न सक्ने खेलाडी हुन्। पहिलो खेलमा कमजोर देखिएको ब्याटिङलाई सम्हाल्ने जिम्मेवारी उनीमाथि हुनेछ। त्यस्तै, बायाँहाते स्पिनर ललित राजवंशीको बलिङ पनि जनकपुरका लागि महत्त्वपूर्ण बन्न सक्छ।

काठमान्डुका लागि अमेरिकी ब्याटर स्मित पटेल शीर्षक्रममा निर्णायक हुन सक्छन्। डेभिड वार्नरको अनुपस्थितिमा उनले आक्रामक सुरुवात दिलाउन सके टोलीलाई फाइदा पुग्नेछ। नेपाली राष्ट्रिय टोलीका अनुभवी अलराउन्डर करण केसीको नयाँ बलमा विकेट निकाल्ने र तल्लोक्रममा रन बनाउने क्षमता पनि काठमान्डुका लागि उपयोगी हुन सक्छ।

यसैबीच, मौसम बदलीसँगै वर्षाको सम्भावना रहेकाले खेलमा त्यसको प्रभाव पर्न सक्ने चिन्ता पनि छ। वर्षाले खेल प्रभावित भएमा दुवै टोलीको रणनीतिमा असर पर्न सक्छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka