विराटनगर । मोरङ प्रहरीले विराटनगरबाट करिब २० लाख रुपैयाँ मूल्यको भारतीय नम्बर प्लेट भएको स्कार्पियो गाडी बेवारिसे अवस्थामा फेला पारेको छ ।
विराटनगर महानगरपालिका–४ नहरचोकस्थित सडक किनारमा सोमबार गाडी फेला परेको हो । जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी सहायक निरीक्षक (असई) डम्बर गिरीको कमान्डमा खटिएको टोलीले दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको गाडी रोक्नसाथ छाडेर चालक फरार भएका थिए ।
चालक फरार भएपछि प्रहरीले गाडी नियन्त्रणमा लिएको हो । महिन्द्रा कम्पनीको सेतो रङको बीआर ११ पीए ४२५४ नम्बरको उक्त स्कार्पियो गाडीको इन्जिन नम्बर एसजेजी४सी१२२३४ र चेसिस नम्बर एमए१टीए२एसजेएक्सजी२सी२७९०१ हो ।
आवश्यक कागजातसमेत फेला नपरेपछि भन्सार छली गरी नेपाल भित्र्याइएको हुन सक्ने आशंकामा गाडी नियन्त्रणमा लिइएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए । आवश्यक अनुसन्धान तथा कारबाहीका लागि उक्त गाडी विराटनगर भन्सार कार्यालयमा पठाइएको जानकारी एसपी कटवालले दिए ।
उनका अनुसार कागजपत्र समेत नभएकोले गाडी चोरी पैठारी गरी नेपाल ल्याइएको हुन सक्ने आशंका गरिएको छ । फरार भएका चालकको पनि खोजी जारी राखिएको प्रहरीले जनाएको छ ।
