काठमाडौं । आज कोजाग्रत पूर्णिमा मनाइँदै छ। बडादसैंको समापनका रूपमा मनाइने यस दिन धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बस्ने धार्मिक परम्परा छ।
आश्विन शुक्ल दशमी अर्थात् विजयादशमीदेखि सुरु भएको दसैंको टीका र जमरा लगाउने क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमासँगै समाप्त हुन्छ। यस दिन दसैंलाई बिदाइ गर्दै महालक्ष्मीको स्वागत गर्ने चलन छ।
धार्मिक मान्यताअनुसार, कोजाग्रत पूर्णिमाको साँझ महालक्ष्मीको पूजा गरी रातभर जाग्राम बसेमा देवी प्रसन्न भई घरमा सुख, समृद्धि र धनधान्य प्रदान गर्छिन्। त्यसैले नेपाली समाजमा यस पर्वलाई विशेष महत्त्वका साथ मनाउने गरिन्छ।
लक्ष्मीपूजाभन्दा १५ दिनअघि पर्ने यस पूर्णिमालाई ‘कौमुदी पूर्णिमा’ पनि भनिन्छ। यस दिनसँगै १५ दिन लामो दुर्गा पक्ष अर्थात् बडादसैं औपचारिक रूपमा समाप्त हुने धार्मिक विश्वास छ।
कोजाग्रत पूर्णिमा दसैंको अन्त्य मात्र नभई सुख, शान्ति र समृद्धिको कामनासहित महालक्ष्मीको आराधना गर्ने विशेष अवसर पनि हो।
