विराटनगर । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ। महानवमीका अवसरमा विराटनगरसहित देशभरका देवी मन्दिर तथा शक्तिपीठहरूमा भक्तजनले पूजा आराधना गरी देवी दुर्गाको दर्शन गरिरहेका छन्।
महानवमीका दिन दसैँघर तथा विभिन्न शक्तिपीठमा घटस्थापनाका दिन राखिएको जमरा चढाउने परम्परा रहेको छ। यस दिन दुर्गा भवानीको विशेष पूजा आराधना गर्नुका साथै दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत तथा देवी स्तोत्र पाठ गरिन्छ।
परम्पराअनुसार कतिपय मन्दिर तथा शक्तिपीठमा बोका, हाँस, कुखुरा, भेडा र राँगाको बलि दिने चलन छ। पशुबलि नदिने तथा शाकाहारी भक्तजनले कुभिण्डो, घिरौंला, मूला, काँक्रो र नरिवललगायतका वस्तु चढाएर पूजा गर्ने गर्छन्।
मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमीकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसको वध गरेकाले यस पर्वलाई विशेष महत्त्वका साथ लिने गरिन्छ।
नवरात्रको अन्तिम दिन आज नवदुर्गामध्ये नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ। साथै, दुर्गाको प्रतीकका रूपमा कन्याको पूजा गरी दक्षिणा दिने परम्परा पनि रहेको छ। यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको समेत विशेष पूजा गरिन्छ।
महानवमीका अवसरमा कोत तथा नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित कोतपूजा र निशानापूजा गर्ने परम्परा छ।
महानवमीसँगै दसैँको धार्मिक तथा सांस्कृतिक रौनक बढेको छ। देशभरका शक्तिपीठमा दर्शन तथा पूजाआराधना गर्न भक्तजनको उपस्थिति रहने गरेको छ।
