विराटनगर । विराटनगर प्लाटिनम राउन्ड टेबल–११ (BPRT-11) ले मोरङको बुढीगंगा गाउँपालिकास्थित मुन्देरीको श्री देशकल्याण आधारभूत विद्यालयमा विद्यार्थीहरूसँग दसैँ उत्सव मनाएको छ।
मंगलबार आयोजित कार्यक्रममा विद्यार्थीलाई दसैँको टीका लगाएर शुभकामना दिँदै उपहार वितरण गरिएको थियो। बालबालिकालाई स्टेसनरी सामग्री, चप्पल, चकलेट तथा खाजासहितका गिफ्ट ह्याम्पर प्रदान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा विद्यार्थीहरूले नृत्य तथा विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए। विद्यार्थी र संस्थाका सदस्यहरू मिलेर नाचगान गर्नुका साथै केक काटेर उत्सव मनाएका थिए।

उक्त अवसरमा राउन्ड टेबल नेपालका अध्यक्ष साकेत मुरारका, सचिव भास्कर सोनी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, प्रधानाध्यापक तथा BPRT-11 का अध्यक्ष र सदस्यहरूको उपस्थिति रहेको थियो।
बालबालिकासँग चाडपर्वको खुसी साट्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको BPRT-11 का सचिव विवेक बंगले जानकारी दिए। उनका अनुसार संस्थाले यसअघि उक्त विद्यालयमा कक्षाकोठा तथा भवन निर्माणमा समेत सहयोग गरेको छ।
शिक्षा र सामाजिक सेवाका क्षेत्रमा सक्रिय राउन्ड टेबलले सामुदायिक विद्यालयको पूर्वाधार विकास तथा विद्यार्थीको शैक्षिक वातावरण सुधारमा सहयोग गर्दै आएको बाङले बताए।




