काठमाडौं । कक्रोच जनता पार्टी (सीजेपी) ले आफ्ना अध्यक्ष अभिजित दीपकेसहित तीन जना नेतालाई दिल्ली प्रहरीले विमानभित्रैबाट नियन्त्रणमा लिएको दाबी गरेको छ।
पार्टीले शनिबार एक वक्तव्य जारी गर्दै अध्यक्ष दीपके, सौरव दास र आशुतोष रांकालाई दिल्ली विमानस्थलमा विमानबाट ओर्लिनुअघि नै प्रहरीले हिरासतमा लिएको जनाएको हो।
सीजेपीका अनुसार तीनै जना मुम्बईबाट दिल्ली पुगेका थिए। दिल्ली आइपुगेपछि अध्यक्ष दीपके सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारणमा आएका थिए। त्यसलगत्तै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको पार्टीको दाबी छ।
प्रहरीको उक्त कदमप्रति सीजेपीले कडा आपत्ति जनाउँदै यसलाई ‘तानाशाहीपूर्ण’ कार्यको संज्ञा दिएको छ। पार्टीले नागरिकको स्वतन्त्र रूपमा आवतजावत गर्न पाउने अधिकारको उल्लंघन भएको भन्दै पक्राउ परेका तीनै जनालाई तत्काल रिहा गर्न माग गरेको छ।
यसअघि चर्चित भारतीय युट्युबर ध्रुव राठी र सीजेपीकी कानूनी मामिला प्रमुख रत्ना सिंहलाई पनि प्रहरीले हिरासतमा लिएको खबर सार्वजनिक भएको थियो।
यद्यपि, यी गिरफ्तारीका सम्बन्धमा दिल्ली प्रहरीको आधिकारिक प्रतिक्रिया र पक्राउको कारणबारे स्वतन्त्र पुष्टि हुन बाँकी छ।
