Premier Cables

विराटनगर

हाजी आँखा अस्पतालका चार सेयरधनीको करोडौं रकम रोकिएको आरोप, बैंकमाथि मिलेमतोको प्रश्न

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज १८, २०८३  | अपराह्न २:१९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । हाजी आँखा अस्पतालको सेयर बिक्रीबापत पाउनुपर्ने रकम ११ महिनादेखि नपाएको भन्दै विराटनगरका चार युवाले बैंक तथा सेयर खरिदकर्तामाथि गम्भीर आरोप लगाएका छन्।

शनिबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनीहरूले आफ्नो रकम भुक्तानीमा बैंकका कर्मचारीले समेत गैरजिम्मेवार भूमिका खेलेको आरोप लगाएका हुन्। रकम नपाउँदा आफूहरू आर्थिक तथा मानसिक समस्यामा परेको उनीहरूको गुनासो छ।

विज्ञापन

उनीहरूका अनुसार हाजी आँखा अस्पतालमा १७ जना सेयरधनी थिए। अस्पतालमा व्यवस्थापकीय समस्या देखिएपछि १६ जना सेयरधनीले आफ्नो सेयर बिक्री गर्ने निर्णय गरेका थिए। तीमध्ये मन्नुकुमार गुप्ताले सबै सेयर खरिद गर्ने सहमति गरेका थिए।

सेयर बिक्री गर्नेमा डा. गुणराज कटेल, जेउल कमर, राजेश शाह र मो. अतहर अन्सारी पनि थिए। उनीहरूले क्रमशः ५७ लाख ८० हजार, १९ लाख ६२ हजार ६०७, ३० लाख ६३ हजार ४ सय र ५० लाख ८० हजार १५६ रुपैयाँ बराबरको सेयर बिक्री गरेको बताएका छन्।

सेयर खरिदबापत गुप्ताले एनसीसी बैंक (हाल कुमारी बैंक) को चेक दिएका थिए। उनीहरूका अनुसार करिब १ करोड ५८ लाख रुपैयाँ बराबरका ती चेक २०८२ मंसिर ५ गते भुक्तानी हुने गरी दिइएका थिए। तर, बैंकमा चेक प्रस्तुत गर्दा रकम भुक्तानी हुन नसकेको उनीहरूको भनाइ छ।

रकम नपाएपछि चारैजनाले पटक–पटक गुप्तासँग भुक्तानीका लागि ताकेता गरेको र अन्ततः उनलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको बताएका छन्। त्यसविरुद्ध गुप्ता उच्च अदालत पुगेका थिए। करिब दुई महिनाको कानुनी प्रक्रियापछि अदालतले चार सेयरधनीको पक्षमा फैसला गर्दै कालोसूचीको प्रक्रिया अघि बढाउने बाटो खुला गरिदिएको उनीहरूको दाबी छ।

कालोसूचीको प्रक्रिया अन्तिम चरणमा पुगेपछि गुप्ताले चेक बराबरको रकम कुमारी बैंकमा जम्मा गरेको उनीहरूले बताए। त्यसपछि बैंकका शाखा प्रबन्धक नितेश अग्रवाललगायत कर्मचारीले खातामा रकम आइसकेको भन्दै कालोसूचीको निवेदन फिर्ता लिन आफूहरूलाई आग्रह गरेको अन्सारीले बताए।

बैंकका कर्मचारीले बैंकको ‘लिगल टिम’बाट स्वीकृति लिएर दुई–तीन दिनभित्र रकम सम्बन्धित सेयरधनीको खातामा जम्मा गरिदिने आश्वासन दिएको उनको भनाइ छ। सोही आश्वासनमा कालोसूचीसम्बन्धी प्रक्रिया रोकिए पनि हालसम्म रकम नपाएको अन्सारीले बताए।

“बैंकले पैसा खातामा आइसकेको भन्दै कालोसूचीको निवेदन फिर्ता लिन लगायो। दुई–तीन दिनमा रकम खातामा आउने भनियो, तर अहिलेसम्म एक रुपैयाँ पनि पाएका छैनौं,” अन्सारीले पत्रकार सम्मेलनमा भने।

बैंकले आफूहरूबाट विभिन्न कागजात तथा कालोसूचीसम्बन्धी निवेदनसमेत लिएर लामो समयसम्म झुलाएको उनीहरूको आरोप छ। आफूहरूले बुझाएका कागजात फिर्ता माग्दा समेत बैंकले फिर्ता नगरेको उनीहरूले बताएका छन्।

अन्सारीले बैंकका कर्मचारी र गुप्ताबीच मिलेमतो भएको आशंका व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्। बैंकको गैरजिम्मेवार व्यवहारका कारण आफूहरू ११ महिनादेखि आर्थिक तथा मानसिक पीडा भोग्न बाध्य भएको उनको भनाइ छ।

उनीहरूले आफ्नो माग तत्काल सम्बोधन नभए थप कानुनी उपचार खोज्नुका साथै आन्दोलनका कार्यक्रमसमेत अघि बढाउने चेतावनी दिएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka