विराटनगर । निर्माण क्षेत्रमा देखिएका समस्या समाधान, कानुनी तथा नीतिगत सुधार र व्यवसायीको हकहित संरक्षणको माग गर्दै नेपाल निर्माण व्यवसायी महासंघ कोशी प्रदेशको १६औँ वार्षिक साधारण सभा तथा ९औँ अधिवेशन शुक्रबार विराटनगरमा सुरु भएको छ ।
अधिवेशनको उद्घाटन सत्रमा सहभागी निर्माण व्यवसायी तथा महासंघका पदाधिकारीहरूले भुक्तानीमा ढिलाइ, आयोजनाको म्याद थप, नदीजन्य निर्माण सामग्रीको अभाव, निर्माण सामग्रीमा भएको मूल्यवृद्धि तथा जटिल कानुनी व्यवस्थाका कारण व्यवसायीले भोग्नुपरेका समस्याबारे धारणा राखेका छन् । उनीहरूले निर्माण क्षेत्रलाई व्यवस्थित, मर्यादित र व्यावसायिक बनाउन नीतिगत तथा कानुनी सुधारमा जोड दिएका छन् ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै महासंघ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष केशरकुमार बुढाथोकीले संस्थाको ऐतिहासिक पृष्ठभूमि प्रस्तुत गर्दै प्रदेशका निर्माण व्यवसायीले भोगिरहेका समस्याबारे जानकारी गराए । उनका अनुसार २०५२ साल पुस २१ गते तयारी समिति गठन भई २०५३ साल असोज १८ गते प्रथम सम्मेलनबाट पूर्वाञ्चल क्षेत्रीय निर्माण व्यवसायी संघ स्थापना भएको थियो । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि २०७३/०७४ सालतिर पूर्वअध्यक्ष मोहनप्रसाद अधिकारीको नेतृत्वमा संस्था निर्माण व्यवसायी महासंघ कोशी प्रदेशका रूपमा रूपान्तरण भएको उनले बताए ।
बुढाथोकीले कोशी प्रदेशका १४ वटै जिल्लामा प्रदेश सरकारबाट सञ्चालित ३६५ वटा सालबसाली योजनामा म्याद थप र भुक्तानीको समस्या गम्भीर रूपमा देखिएको बताए । समस्या समाधानका लागि महासंघले प्रदेश सरकारसँग निरन्तर छलफल र पहल गरिरहेको उनको भनाइ थियो ।
नदीजन्य निर्माण सामग्री उत्खननमा लगाइएको रोक, वर्षायाममा सरकारी काम प्रभावित हुने अवस्था, भुक्तानीमा हुने ढिलाइ र निर्माण सामग्रीको मूल्यवृद्धिले व्यवसायी आर्थिक संकटमा परेको उनले उल्लेख गरे । यस्ता चुनौतीका बाबजुद निर्माण व्यवसायी आफ्नो पेसामा टिकिरहँदै अधिकारका लागि संघर्ष गरिरहेको उनले बताए ।
साना तथा ठूला निर्माण व्यवसायीबीचको दूरी घटाउँदै सबैलाई समेटेर अघि बढ्ने वातावरण निर्माणमा महासंघले पहल गरिरहेको पनि उनले जानकारी दिए । हाल लागू भएको एभरेज बिडिङ प्रणाली र एउटा कम्पनीले पाँचवटाभन्दा बढी निर्माण कार्य गर्न नपाउने व्यवस्थालाई इमानदारीपूर्वक कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले निर्माण व्यवसायलाई पुस्तान्तरण हुने पेसामा मात्र सीमित नराखी उद्योगका रूपमा विकास गर्नुपर्ने बताए । निर्माण व्यवसायलाई भविष्यको सम्पत्तिका रूपमा स्थापित गर्न नेतृत्वले भाषणभन्दा कामलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो । उनले प्रदेश तथा जिल्लास्तरका व्यवसायीका समस्या र सुझाव सुनेर समाधानको पहल गर्न नेतृत्वलाई आग्रह गरे ।
नयाँ खरिद ऐनको दोस्रो संशोधनपछि उपलब्ध हुने २० प्रतिशत पेस्की रकमको सदुपयोग गर्नुपर्नेमा जोड दिँदै पाण्डेले उक्त रकम व्यक्तिगत वा अन्य प्रयोजनमा खर्च गर्न नहुने बताए । पेस्कीको उचित व्यवस्थापन गर्न सके बैंक ऋणमाथिको निर्भरता घटाउनुका साथै निर्माण कार्यलाई प्रभावकारी बनाउन सकिने उनले उल्लेख गरे ।
उनले आगामी डिसेम्बर ९ र १० गते काठमाडौंमा आयोजना हुने पूर्वाधार लगानी सम्मेलनमार्फत ठूला आयोजनामा स्वदेशी तथा विदेशी निजी लगानी आकर्षित गर्ने तयारी भइरहेको जानकारी दिए । यसका लागि करिब ६० वटा कानुन संशोधनको मस्यौदा तयार भइरहेको बताउँदै उनले प्रस्तावित संशोधनले वन, जग्गा प्राप्ति, नदीजन्य तथा खानीजन्य निर्माण सामग्रीसँग सम्बन्धित समस्या समाधानमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
महासंघ कोशी प्रदेशका अध्यक्ष एवं कार्यक्रमका सभाध्यक्ष जनसेवक भण्डारीले निर्माण व्यवसायीले सहज रूपमा काम गर्न सक्ने वातावरण बनाउन निर्माणसम्बन्धी कानुनलाई समयसापेक्ष, स्पष्ट र व्यावहारिक बनाउनुपर्ने बताए । एकआपसमा बाझिने तथा जटिल कानुनी व्यवस्थाले निर्माण कार्यमा अवरोध सिर्जना गरिरहेको भन्दै उनले व्यवसायमैत्री कानुन आवश्यक रहेको धारणा राखे ।
निर्माण कार्यसँग सम्बन्धित रुजु प्रक्रियाका कारण व्यवसायीले अनावश्यक तनाव र समस्या भोग्नुपरेको उल्लेख गर्दै भण्डारीले न्यायसंगत र व्यावहारिक रूपमा रुजु फिर्ताको व्यवस्था गर्न माग गरे । उनले महासंघको सदस्यता विस्तारका लागि शुल्क सुलभ बनाउनुपर्ने र देशभरका निर्माण व्यवसायीलाई एउटै संगठनात्मक छातामुनि समेट्नुपर्ने आवश्यकता औँल्याए । कोशी प्रदेशका निर्माण व्यवसायीको हक, हित र अधिकार संरक्षणका लागि आफू निरन्तर साथमा रहने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
कार्यक्रममा महासंघका केन्द्रीय सल्लाहकार बलिभद्र रानाले निर्माण क्षेत्रमा भएका राम्रा तथा गुणस्तरीय कामको सबै पक्षबाट प्रशंसा हुनुपर्ने बताए । कोशी प्रदेश समितिले कानुनी र प्राविधिक क्षेत्रका विज्ञलाई सल्लाहकार नियुक्त गरेकोप्रति खुसी व्यक्त गर्दै उनले व्यवसायीका व्यावसायिक, प्राविधिक तथा कानुनी समस्या समाधानका लागि प्रदेश समितिले चालेका कदम सकारात्मक रहेको बताए ।
अधिवेशनको उद्घाटन सत्रमा महासंघका अध्यक्ष निकोलस पाण्डे, निवर्तमान अध्यक्ष रवि सिंह, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापालगायतको उपस्थिति थियो ।
दुई दिनसम्म सञ्चालन हुने अधिवेशनको पहिलो दिन उद्घाटन समारोहसँगै निर्माण क्षेत्रका विभिन्न समस्याबारे छलफल भएको छ । दोस्रो दिन संगठनात्मक विषयमा छलफल, समीक्षा तथा नयाँ नेतृत्व चयनलगायतका कार्यक्रम हुने महासंघले जनाएको छ ।
