काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २७२ वटा विपद्का घटना हुँदा २१ जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असोज ११ गते बिहान १० बजेदेखि असोज १२ गते बिहान १० बजेसम्म भएका विपद्का घटनामा २६ जना घाइते भएका छन् ।
सो अवधिमा सबैभन्दा बढी ९७ वटा पहिरोका घटना भएका छन् । पहिरोमा परी २१ जनाको मृत्यु, चार जना बेपत्ता र चार जना घाइते भएका छन् ।
त्यस्तै, अविरल वर्षाका ८०, बाढीका ५७, सर्पदंशका १७, आगलागीका आठ, हावाहुरीका आठ, जनावर आक्रमणका चार र हिमपातको एउटा घटना भएको प्राधिकरणले जनाएको छ ।
बाढीका घटनामा मानवीय क्षति नभए पनि ४१५ जनाको उद्धार गरिएको छ । अविरल वर्षाका कारण पनि ७०० जनाको उद्धार गरिएको प्राधिकरणको विवरणमा उल्लेख छ ।
विपद्का कारण देशभर ४८ सडकखण्ड अवरुद्ध भएका छन् भने १२१ चौपायाको क्षति भएको छ । विपद्का घटनाबाट करिब एक करोड ९१ लाख ६६ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा पहिरो, बाढी र अविरल वर्षाका घटना प्रमुख रहेका छन् । प्रभावित क्षेत्रमा सुरक्षाकर्मी तथा सम्बन्धित निकायबाट उद्धार र खोजी कार्य जारी छ ।
