ताप्लेजुङ । सुकेटार विमानस्थलमा झन्डै चार महिनापछि हवाई उडान पुन: सुरु भएको छ । नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजले सोमबार उडान गरेको हो ।यसअघि यस विमानस्थलमा पछिल्लाे अवतरण जेष्ठ २२ मा भएको थियो ।
काठमाडौँदेखि १३ जना यात्रु लिएर आएको उक्त जहाज ताप्लेजुङबाट ५ जना लिएर फर्किएको निगमका ताप्लेजुङका स्टेशन इन्चार्ज नारायण कुमार कार्कीले जानकारी दिए । दसैँ तिहारजस्ता चाडपर्व नजिकिएसँगै उडान पनि सुरु गरिएको विमानस्थलका कर्मचारीले बताए ।
कार्कीका अनुसार काठमाडौं–ताप्लेजुङ–काठमाडौं उडानकालागि अहिले सेप्टेम्बरसम्मकालागि सातामा एकदिन सोमबारको तालिका रहेपनि अक्टोबरदेखि सातामा तीनदिन सोमबार, बिहीबार र शनिबार गरी तीन उडान राखिएको छ ।
भाडा दर भने काठमाडौंदेखि ताप्लेजुङसम्मको प्रतिव्यक्ति १२ हजार २ सय ७० र ताप्लेजुङदेखि काठमाडौंका लागि १२ हजार ७० रुपियाँ रहेको नेपाल वायुसेवा निगमले जनाएको छ ।
