काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नेपाल प्रहरीको साइबर ब्युरोले सोमबार बिहान पक्राउ गरेको छ । रास्वपा सांसद रचना खतिवडा खत्रीले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको जनाइएको छ ।
प्रसाईंले पछिल्ला दिनमा सांसद खतिवडाबारे दिएका अभिव्यक्तिका सम्बन्धमा अनुसन्धान तथा सोधपुछ गर्न उनलाई नियन्त्रणमा लिइएको हो । यसअघि भदौ २९ गते झापाबाट काठमाडौं आएका प्रसाईंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यक्रम गर्न खोजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर घर पठाएको थियो ।
यसैबीच, सांसद खतिवडाले प्रतिनिधिसभाको विशेष समयमा बोल्दै प्रसाईंले आफूविरुद्ध लगाएको आरोपको खण्डन गरेकी थिइन् । उनले प्रसाईंको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै कारबाहीको माग गरेकी थिइन् ।
प्रसाईंले खतिवडाले छोराको शवसँग सांसद पद साटेको आरोप लगाएका थिए । त्यसको जवाफ दिँदै खतिवडाले आफ्नो छोराले न्याय पाउने अवस्था बने आफू सांसद पदबाट राजीनामा दिन तयार रहेको बताएकी थिइन् ।
नेपाल प्रहरीको साइबर ब्युरोले यसअघि पनि सामाजिक सञ्जाल तथा विद्युतीय माध्यमबाट हुने आपत्तिजनक गतिविधिसम्बन्धी उजुरीमा अनुसन्धान गर्दै आएको छ ।
