विराटनगरमा असोज १७ र १८ गते ‘फोटो एन्ड भिडियो एक्स्पो २०८३’ हुँदै
विराटनगर । विराटनगरमा ‘फोटो एन्ड भिडियो एक्स्पो २०८३’ आयोजना हुने भएको छ। फोटोग्राफर संघ मोरङको आयोजनामा असोज १७ र १८ गते विराटनगरस्थित आरके पार्टी प्यालेसमा एक्स्पो हुने भएको हो।
‘ज्ञान, प्रविधि र सम्भावनालाई जोड्ने साझा मञ्च’ भन्ने नारासहित आयोजना हुन लागेको एक्स्पोमा फोटो तथा भिडियो क्षेत्रसँग सम्बन्धित विभिन्न कम्पनी तथा व्यवसायीका करिब १५ देखि २० वटा स्टल रहने आयोजकले जनाएको छ।
एक्स्पोमा क्यामेरा कम्पनी, फोटो तथा भिडियो सफ्टवेयर कम्पनी, वेडिङ एल्बम कम्पनी, प्रिन्टिङ तथा प्रिन्टिङ एक्सेसरीज कम्पनी, मेकअप आर्टिस्ट, इभेन्ट प्लानर लगायतका स्टल रहनेछन्। फोटो तथा भिडियो क्षेत्रमा प्रयोग भइरहेका नयाँ प्रविधि, उपकरण तथा सेवाबारे जानकारी लिन सकिने आयोजकको भनाइ छ।
फोटो तथा भिडियो क्षेत्रमा आबद्ध व्यवसायी, फोटोग्राफर, भिडियोग्राफर तथा सर्वसाधारणलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको हो। एक्स्पोले यस क्षेत्रमा रहेका नयाँ प्रविधि, सेवा र सम्भावनाबारे जानकारी तथा व्यवसायिक आदानप्रदानको अवसर सिर्जना गर्ने अपेक्षा गरिएको कार्यक्रम संयोजक एकराज श्रेष्ठले बताए ।
एक्स्पोको मुख्य प्रायोजक काठमाडौं न्युरोडस्थित फोटो कन्सर्न रहेको छ भने मिडिया पार्टनर हाम्रो विराटनगर रहेको छ।

