काठमाडौँ । आइची–नागोया एसियाली खेलकुदमा चीनले आफ्नो परम्परागत दबदबालाई निरन्तरता दिँदै पदक तालिकाको शीर्ष स्थानमा फराकिलो अग्रता कायम गरेको छ। बहुआयामिक खेलहरूमा एकछत्र प्रभाव जमाउँदै चीनले ११७ स्वर्ण, ४७ रजत र ३८ कांस्यसहित कुल २०२ पदक जितिसकेको छ।
स्वीमिङ, सुटिङ, रोइङ, वुसु, क्यानोइङ, भारोत्तोलन, जिम्न्यास्टिक्स, एथलेटिक्स र टेबलटेनिसजस्ता प्रमुख स्पर्धामा चीनले लगातार पदक हात पारिरहेको छ।
आयोजक जापान घरेलु मैदानको फाइदा उठाउँदै २९ स्वर्ण, ४३ रजत र ४६ कांस्यसहित कुल ११८ पदक बटुलेर दोस्रो स्थानमा छ। त्यस्तै, मार्सल आर्ट्स, बेसबल र घोडचढीमा राम्रो प्रदर्शन गरेको दक्षिण कोरिया १३ स्वर्ण, १९ रजत र ३५ कांस्यसहित तेस्रो स्थानमा छ।
मध्य एसियाली राष्ट्र र भारतको स्थिति
पदक तालिकामा थाइल्यान्ड ९ स्वर्ण जित्दै अगाडि देखिएको छ भने उज्बेकिस्तान, कजाकिस्तान र बहराइनले समान ८-८ स्वर्ण हात पारेका छन्। इरानले ७ र मलेसियाले ६ स्वर्ण जितेका छन्।
दक्षिण एसियाली टोली भारत ४ स्वर्ण, १६ रजत र १७ कांस्य गरी ३७ पदकका साथ कुल पदक संख्याका आधारमा शीर्ष १० को नजिक पुगेको छ। यद्यपि, स्वर्ण पदकको संख्या तुलनात्मक रूपमा कम रहेकाले भारतलाई रजत र कांस्यकै भरमा पदक संख्या बढाउनुपर्ने बाध्यता देखिएको छ।
नेपाल दुई कांस्यमा सीमित, दक्षिण एसियाली प्रतिस्पर्धा
प्रतिस्पर्धामा सहभागी ४५ राष्ट्रमध्ये ३४ देशले मात्र पदक तालिकामा खाता खोलेका छन् भने ११ देश अझै पदकविहीन छन्।
नेपाल दुई कांस्य पदकमा सीमित हुँदै ३३औँ स्थानमा अड्किएको छ। नेपालभन्दा एक स्थानमाथि रहेको पाकिस्तान ४ कांस्यसहित ३२औँ स्थानमा छ।
दक्षिण एसियाली छिमेकी श्रीलंका महिला क्रिकेटको फाइनलसम्म पुगेर १ रजत जित्दै २९औँ स्थानमा उक्लिएको छ। यता बंगलादेश भने उसुबाट प्राप्त १ कांस्यका साथ नेपालभन्दा एक स्थान पछाडि (३४औँ स्थानमा) छ।
