काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्ताव गरेको सातदिने युद्धविराम योजना अस्वीकार गरेपछि सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ । तेलको मूल्य बढेसँगै विश्वव्यापी मुद्रास्फीति थप बढ्न सक्ने चिन्ता पनि बढेको छ ।
इरानले गत साता संयुक्त राष्ट्रसंघको महासभाका क्रममा सातदिने युद्धविरामसहित होर्मुज जलडमरूमध्य पुनः खोल्ने प्रस्ताव अघि सारेको थियो । प्रस्तावअनुसार अमेरिकी नाकाबन्दी हटाउने, इरानी तेलमाथिका प्रतिबन्ध खुकुलो पार्ने तथा रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्नेलगायतका सर्त राखिएका थिए ।
ट्रम्पले ह्वाइट हाउस बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै इरानको प्रस्ताव अस्वीकार गरेको बताएका छन् । यद्यपि, अमेरिका र इरानबीच अप्रत्यक्ष वार्ता पुनः सुरु हुन सक्ने संकेत उनले दिएका छन् । मध्यस्थकर्तामार्फत दुवै देशबीच वार्ता अघि बढिरहेको बताइएको छ ।
होर्मुज जलडमरूमध्य विश्वको महत्वपूर्ण ऊर्जा आपूर्ति मार्गमध्ये एक हो । यहाँबाट हुने तेल तथा ग्यासको आवतजावतमा अवरोध आएपछि विश्व बजारमा आपूर्ति र मूल्य दुवैमा दबाब पर्ने गरेको छ । इरानले अमेरिकी सैन्य दबाब र नाकाबन्दी हटेमा एक साताभित्र जलडमरूमध्य पुनः खोल्न सकिने बताएको थियो ।
युद्धविरामको प्रस्तावपछि गत साता घटेको तेलको मूल्य सोमबार पुनः उकालो लागेको हो । अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य ३ प्रतिशतभन्दा बढी बढेर प्रतिब्यारेल १०७ अमेरिकी डलरभन्दा माथि पुगेको थियो ।
तेलको मूल्यवृद्धिको प्रभाव विश्वका वित्तीय बजारमा समेत देखिएको छ । एसियाली सेयर बजारमा दबाब बढेको छ भने लगानीकर्ताहरूले मध्यपूर्वको तनाव, ऊर्जा आपूर्ति र त्यसबाट उत्पन्न हुन सक्ने मुद्रास्फीतिलाई नजिकबाट नियालिरहेका छन् ।
विश्लेषकहरूका अनुसार अमेरिका–इरान तनाव कायमै रहेमा ऊर्जा बजारमा थप अस्थिरता आउन सक्छ । यद्यपि, दुवै पक्षबीच पुनः वार्ता सुरु हुने सम्भावनाले कूटनीतिक समाधानको बाटो खुला राखेको छ ।
