काठमाडौँ । ल्याटिन अमेरिकामा लागुऔषध तस्करीविरुद्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सञ्चालन गरिरहेको सैन्य अभियानअन्तर्गत अमेरिकी सेनाले क्यारिबियन सागरमा एउटा डुङ्गामाथि आक्रमण गर्दा चार जनाको मृत्यु भएको छ।
अमेरिकी सेनाका अनुसार लागुऔषध तस्करीमा प्रयोग भएको आशङ्का गरिएको उक्त डुङ्गालाई समुद्री मार्गमा लक्षित गरी कारबाही गरिएको हो। अमेरिकी दक्षिणी कमाण्डले तस्करीका लागि परिचित समुद्री क्षेत्रमा उक्त कारबाही गरिएको जनाएको छ। यद्यपि, आक्रमण गरिएको डुङ्गामा लागुऔषध ओसारपसार भइरहेको पुष्टि गर्ने प्रमाण भने सेनाले सार्वजनिक गरेको छैन।
ट्रम्प प्रशासनले लागुऔषध तस्करीमा संलग्न समूहलाई ‘नार्को–आतङ्कवादी’ भन्दै सैन्य कारबाही तीव्र बनाएपछि अमेरिकी सेनाले पूर्वी प्रशान्त महासागर र क्यारिबियन सागरमा गरेका ६९ वटा आक्रमणमा कम्तीमा २३१ जनाको मृत्यु भएको जनाइएको छ।
अमेरिकी दक्षिणी कमाण्डले सामाजिक सञ्जाल ‘एक्स’ मा सार्वजनिक गरेको भिडियोमा समुद्रमा अघि बढिरहेको एउटा डुङ्गा र त्यसपछि देखिएको ठूलो चम्किलो प्रकाशको दृश्य देखाइएको छ।
ट्रम्प प्रशासनले अब ल्याटिन अमेरिकी देशहरूको भूमिमा समेत लागुऔषध तस्करीविरुद्ध सैन्य कारबाही विस्तार गर्न क्षेत्रीय साझेदारसँग सहकार्यको प्रयास गरिरहेको छ। अमेरिकी रक्षामन्त्री पिट हेगसेथले गत महिना पानामाको भ्रमणका क्रममा कोलम्बिया, ग्वाटेमाला र होन्डुरसले अमेरिकी सेनालाई आफ्नो भूमिमा आपराधिक समूहविरुद्ध संयुक्त सैन्य कारबाही गर्न अनुमति दिन सहमति जनाएको बताएका थिए। तर ग्वाटेमालाले भने त्यस्तो कुनै सम्झौता भएको अस्वीकार गरेको छ।
इक्वेडरले भने मार्चमै अमेरिकासँग सहकार्य गरी यस्तै प्रकारका सैन्य अभियान सञ्चालन गरेको थियो।
राष्ट्रपति ट्रम्पले अमेरिकाले ल्याटिन अमेरिकामा सक्रिय लागुऔषध गिरोहसँग ‘सशस्त्र द्वन्द्व’ गरिरहेको बताउँदै आएका छन्। अमेरिकामा भित्रिने लागुऔषधको प्रवाह र त्यसबाट हुने मानवीय क्षति रोक्न सैन्य कारबाही आवश्यक रहेको उनको दाबी छ।
तर, अमेरिकी प्रशासनले यस्ता आक्रमणमा मारिएका व्यक्तिहरू लागुऔषध तस्करीमा संलग्न रहेको पुष्टि गर्ने विस्तृत प्रमाण सार्वजनिक गरेको छैन।
