फायल फोटो
विराटनगर । भारीदेखि अति भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै विराटनगर महानगरपालिकामा सञ्चालित सबै विद्यालय दुई दिन बन्द हुने भएका छन्।
जल तथा मौसम विज्ञान विभागबाट प्राप्त मौसम पूर्वानुमानअनुसार असोज ८ गतेदेखि ११ गतेसम्म नेपालभर भारीदेखि अति भारी वर्षा हुन सक्ने सम्भावना रहेको भन्दै महानगरपालिकाले असोज ८ र ९ गते विद्यालय बन्द गर्न अनुरोध गरेको हो।
महानगरपालिकाले स्थानीय खोलानाला तथा नदीमा पानीको बहाव बढ्न सक्ने, सडक तथा बस्तीमा डुबान हुन सक्ने, बाटोघाटो अवरुद्ध हुने तथा अन्य विपत्जन्य जोखिम सिर्जना हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै विद्यार्थी तथा आम नागरिकको सुरक्षाका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको जनाएको छ।
महानगरपालिकाले सुरक्षित विद्यालय भवनलाई आवश्यकताअनुसार विपत् प्रभावित नागरिकका लागि अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्न सकिने गरी तयारी अवस्थामा राख्न समेत विद्यालयहरूलाई आग्रह गरेको छ।
यसका लागि सम्बन्धित विद्यालयलाई स्थानीय प्रशासनसँग आवश्यक समन्वय तथा सम्पर्कमा रहन पनि महानगरपालिकाले अनुरोध गरेको छ।
