काठमाडौँ । नेपालमा आगामी साता अत्यधिक भारी वर्षाको सम्भावना रहेको भन्दै मौसमविद्हरूले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। उत्तर अन्डमन सागर र बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली तथा पश्चिमी वायुको सम्भावित अन्तरक्रियाका कारण देशका विभिन्न भूभागमा ठूलो विपद् निम्तिन सक्ने आकलन गरिएको छ।
मौसम विज्ञान विभाग, पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आगामी असोज ८ देखि १२ गतेसम्म बंगालको खाडीमा विकसित प्रणालीको प्रभाव नेपालमा थप बढ्ने र पश्चिमी वायुमण्डलीय प्रणालीसँग त्यसको अन्तरक्रिया हुने सम्भावना छ। यसरी दुई प्रणालीबीच बलियो अन्तरक्रिया हुँदा नेपालतर्फ पर्याप्त जलवाष्प भित्रिने र विभिन्न भूभागमा भारीदेखि अति भारी वर्षा हुन सक्ने मौसमविद्हरूको भनाइ छ।
त्रिवि जल तथा मौसम विज्ञान केन्द्रीय विभागका उपप्राध्यापक विनोद पोखरेलले विभिन्न मौसम पूर्वानुमान प्रणालीहरूको अध्ययन गर्दा यसपटक निकै ठूलो वर्षाको सम्भावना देखिएको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै केही क्षेत्रमा ४०० मिलिमिटरभन्दा बढी र ७४१ मिलिमिटरसम्म पानी पर्न सक्ने आकलन गरिएको र यो अवस्था निकै गम्भीर हुन सक्ने चेतावनी दिएका छन्।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेले न्यूनचापीय प्रणाली प्रतिदिन परिवर्तन भइरहने भएकाले नेपालमा कति मिलिमिटर वर्षा हुन्छ भनेर अहिले नै पूर्णरूपमा यकिन भइनसकेको स्पष्ट पारेका छन्। बंगालको खाडीमा विकसित भइरहेको यो प्रणाली चक्रवातका रूपमा विकसित भए नभएको र यसको परिधि नेपालतर्फ कति सर्छ भन्ने आधारमा प्रभाव निर्भर हुने उनको भनाइ छ।
मनसुन अझै सक्रिय रहेको र विगतमा पनि यस्तै याममा भारी वर्षाले ठूलो धनजनको क्षति पुर्याएको अनुभवका आधारमा विभागले सबैलाई सचेत र सजग रहन आग्रह गरेको छ।
