विराटनगर | विमान बङ्गलादेश एयरलाइन्सको उडानमा दुई यात्रुबिच कुटाकुट भएको छ। १७ सेप्टेम्बरमा बङ्गलादेशको सिलेटबाट लन्डनतर्फ उडिरहेको विमानमा दुई यात्रुबिच सुरुमा भनाभन भएको थियो।
भनाभनपछि विवाद बढ्दै जाँदा उनीहरूले एक–अर्कामाथि लात्ती र मुक्का प्रहार गर्न थालेका थिए। कुटाकुटका कारण विमानभित्र केही समय होहल्ला मच्चिएको थियो।
अन्य यात्रुले झगडा रोक्ने प्रयास गरे पनि दुवै यात्रुबीच कुटाकुट जारी रहेको बताइएको छ। घटनाका क्रममा एक यात्रुको टी–सर्टसमेत च्यातिएको थियो।
घटनाको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ। भिडियोमा दुई यात्रुबीच कुटाकुट भइरहेको र अन्य यात्रुले उनीहरूलाई छुट्याउने प्रयास गरिरहेको देखिन्छ।
विमान बङ्गलादेश एयरलाइन्सका महाप्रबन्धक महबुबुद्दिन अहमदले घटनाबारे आफूलाई तत्काल जानकारी नभएको बताएका छन्। उनले घटनाबारे बुझ्ने बताएका छन्।
बङ्गलादेशी सञ्चारमाध्यमका अनुसार घटनाको कारण तथा झगडामा संलग्न यात्रुबारे थप विवरण भने सार्वजनिक गरिएको छैन।
