विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक ऐन, २०८३ को अनुसूची–२ अनुसार सवारी साधन कर तथा जरिवानामा विभिन्न छुट सुविधा दिएको छ । यस सम्बन्धी जानकारी लिएर सुविधा लिन प्रदेश राजस्व कार्यालय, इटहरीले सर्वसाधारणलाइ सूचीत समेत गरेको छ । छुटसम्बन्धी जानकारी सार्वजनिक गर्दै तोकिएको समयभित्र सवारीधनीलाई लाभ लिन भनिएको हो ।
कार्यालयका अनुसार तीन वर्षभन्दा बढी अवधिदेखि सवारी साधन कर नतिरेको वा ब्लु–बुक नवीकरण गर्न बाँकी रहेको अवस्थामा तीन वर्षभन्दा अघिको अवधिको जरिवाना मात्र छुट हुनेछ।
त्यस्तै, २० वर्ष आयु पूरा भई स्क्र्यापमा गएको, दुर्घटनामा परी सञ्चालनमा नरहेको वा पाँच वर्षभन्दा बढी अवधिदेखि सवारी कर नतिरेका सवारी साधनको दर्ता खारेज वा लगत कट्टा गर्दा आर्थिक वर्ष २०८३/८४ को एक वर्षको सवारी कर बुझाएमा बाँकी कर, दस्तुर तथा जरिवाना छुट हुने व्यवस्था गरिएको छ।
यसैगरी, लिलाम गर्ने सरकारी सवारी साधनको बाँकी सवारी करसमेत छुट हुने कार्यालयले जनाएको छ।
यो छुट सुविधा २०८४ जेठ मसान्तसम्म मात्र उपलब्ध हुने भएकाले सम्बन्धित सवारीधनीले तोकिएको अवधिभित्र प्रक्रिया पूरा गर्नुपर्नेछ।
ब्लु–बुकमा साविकको अञ्चल कोड ‘मे’ वा ‘को’, प्रदेश कोड ‘प्र.१’ वा ‘प्रदेश–१’ अथवा ‘कोशी प्रदेश’ उल्लेख भएका सवारी साधनमा उक्त छुटसम्बन्धी व्यवस्था लागू हुने प्रदेश राजस्व कार्यालय, इटहरीले जनाएको छ।
छुट तथा सुविधासम्बन्धी थप जानकारीका लागि प्रदेश राजस्व कार्यालय, इटहरीले सार्वजनिक गरेको सूचनामा रहेको क्यूआर कोड स्क्यान गर्न सकिनेछ।
