काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि उत्पन्न विपद्को व्यवस्थापन, पुनर्निर्माण तथा नीतिगत सुधारका लागि सात दिनभित्र सर्वदलीय संयन्त्र गठन गर्ने सहमति भएको छ ।
बुधबार बसेको सर्वदलीय बैठकले संयन्त्र गठनका लागि समयसीमा तोकेको हो । बैठकपछि राप्रपा सांसद ज्ञानेन्द्र शाहीले सात दिनभित्र सर्वदलीय संयन्त्र गठन गर्ने विषयमा सहमति भएको जानकारी दिए ।
‘अबको सात दिनभित्र सर्वदलीय संयन्त्र बन्ने कुरा भएको छ । संसदीय समिति छानबिन गर्ने कुरा पनि भएको छ,’ शाहीले बैठकपछि सञ्चारकर्मीसँग भने ।
बैठकमा ‘सनसेट ल’ लागू गर्ने विषयमा समेत छलफल भएको उनले बताए ।
रसुवामा भदौ १० गते विनाशकारी बाढी आएपछि भोलिपल्टै रास्वपा सभापति रवि लामिछानेले विपद्पछिको उद्धार, राहत र पुनर्स्थापनाका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्न प्रस्ताव गरेका थिए । त्यसपछि बसेको सर्वदलीय बैठकमा रास्वपा, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी, राप्रपा, जसपा र जनमत पार्टीका शीर्ष नेताहरू सहभागी भएका थिए ।
उक्त बैठकमा लामिछानेले उद्धार, राहतदेखि पुनर्स्थापनासम्म सरकारलाई सहयोग र सहजीकरण गर्ने गरी सर्वदलीय, सर्वपक्षीय वा संसदीय समिति गठन गर्न प्रस्ताव गरेका थिए ।
बैठकपछि जारी १० बुँदे संकल्पमा पनि विपद्पछिको पुनर्निर्माण, जलवायु अनुकूलन, राष्ट्रिय विपद् नीतिमा समयानुकूल सुधार तथा सरकारका कामकारबाहीमा निरन्तर सल्लाह, सहयोग र अनुगमन गर्न संसदीय समिति गठन गर्ने विषय समेटिएको थियो ।
संकल्पमा प्रस्तावित संयन्त्रले विपद्को समयमा उद्धार, राहत र पुनर्स्थापनामा सहजीकरण गर्नुका साथै विपद्पूर्व तयारी, दिगो विकास र नीतिगत सुधारका विषयमा राष्ट्रिय सहमति निर्माणमा भूमिका खेल्ने उल्लेख गरिएको थियो ।
यसअघि भदौ १६ गते बसेको सर्वदलीय बैठकले पनि संयन्त्र गठन गर्ने विषयमा सहमति जनाएको थियो । तर, त्यसबेला संयन्त्र गठन हुन सकेको थिएन । बुधबारको बैठकले भने संयन्त्र गठनका लागि सात दिनको समयसीमा नै निर्धारण गरेको हो ।
