काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई प्रहरी संगठनको सर्वोच्च पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी यसअघि नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग प्रमुखका रूपमा कार्यरत थिए ।
मन्त्रिपरिषद् स्रोतका अनुसार वर्तमान आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णयसमेत भएको छ ।
यसअघि पनि सरकारले प्रहरी महानिरीक्षक परिवर्तन गर्दै सुरक्षा सल्लाहकारमा सरुवा गर्ने अभ्यास गरेको थियो ।
अच्युतकृष्ण खरेललाई आईजीपी पदबाट हटाएर राष्ट्रिय अनुसन्धान विभागमा सरुवा गरिएपछि उनी सर्वोच्च अदालत पुगेका थिए । दरबन्दी नै नभएको स्थानमा सरुवा गरिएको भन्दै उनले अदालतमा चुनौती दिएका थिए । सर्वोच्च अदालतबाट मुद्दा जितेपछि खरेल पुनः प्रहरी महानिरीक्षक बनेका थिए ।
खरेललाई हटाएपछि सरकारले ध्रुवबहादुर प्रधानलाई आईजीपी नियुक्त गरेको थियो । पछि प्रधानलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको थियो ।
त्यस्तै, सुडान घोटाला प्रकरणमा मुछिएपछि तत्कालीन आईजीपी रमेश चन्द ठकुरीलाई पनि सुरक्षा सल्लाहकारमा सरुवा गरिएको थियो । उनको स्थानमा रवीन्द्रप्रताप शाहलाई प्रहरी महानिरीक्षक नियुक्त गरिएको थियो ।
यसरी प्रहरी नेतृत्व परिवर्तनसँगै पूर्वआईजीपीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाउने अभ्यास विगतमा पनि दोहोरिँदै आएको छ ।
