






काठमाडौं । सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १९औं बैठकले हालैका विपद्बाट प्रभावित परिवारहरूलाई राहत र पुनःस्थापनाका लागि तत्काल कदम चाल्ने निर्णय गरेको छ।
बैठकले घरबास गुमाएका पीडितहरूलाई अस्थायी आवास निर्माणका लागि अनुदान रकमको पहिलो किस्ता तत्काल उपलब्ध गराउने निर्णय गर्दै, विपद्मा मृत्यु भएका तथा बेपत्ता भएका व्यक्तिका परिवारलाई प्रचलित कानुन अनुसार राहत उपलब्ध गराउन र घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ।
साथै, बेपत्ता व्यक्तिहरुको खोज तथा उद्धार कार्यलाई निरन्तरता दिने तथा विभिन्न स्थानमा अवरुद्ध भएका सडक, खानेपानी, विद्युत्, सञ्चार जस्ता अत्यावश्यक सेवा तत्काल सञ्चालन गर्न सम्बन्धित मन्त्रालयहरूलाई आवश्यक निर्देशन प्रदान गरिएको छ।
विपद् पछाडि फैलन सक्ने महामारीको सम्भाव्यतालाई ध्यानमा राख्दै बैठकले जोखिमयुक्त स्थानहरूमा जनचेतना, स्वास्थ्य शिविर, मनोसामाजिक परामर्श लगायतका कार्यक्रमहरू सञ्चालन गर्नसमेत निर्देशन दिएको छ।
बैठकमा अर्थ एवं सङ्घीय मामिला मन्त्री रामेश्वर प्रसाद खनाल, ऊर्जा तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङ, गृह मन्त्री ओम प्रकाश अर्याल, शिक्षा मन्त्री महावीर पुन, कृषि मन्त्री मदनप्रसाद परियार, सञ्चार मन्त्री जगदीश खरेल लगायतका मन्त्रीहरूको उपस्थिति थियो।
प्रदेशस्तरबाट बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह सहभागी भए। यस्तै, राष्ट्रिय परिषद्का विज्ञ सदस्य गंगालाल तुलाधर, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल तथा सुरक्षा निकायका प्रमुखहरू समेत बैठकमा सहभागी थिए।