Premier Cables
Premier Steel

कोशी प्रदेश

विराट एक्सपो २०२६ पुस २ देखि, २७५ भन्दा बढी स्टल रहने

Hamro Biratnagar News Channel Calendar बुधबार, कार्तिक १८, २०८३  | अपराह्न १२:४७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा नवौँ संस्करणको विराट एक्सपो २०२६ आगामी पुस २ देखि ११ गतेसम्म सञ्चालन हुने भएको छ। विराटनगर–१४ स्थित डिग्री क्याम्पस परिसरमा आयोजना हुने एक्सपोमा २७५ भन्दा बढी स्टल रहने आयोजकले जनाएको छ।

उद्योग संगठन मोरङले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी एक्सपोको तयारी र कार्यक्रमबारे जानकारी दिएको हो।

विज्ञापन

संगठनका अध्यक्ष नन्दकिशोर राठीका अनुसार यसपटकको एक्सपो विगतका संस्करणभन्दा फरक अवधारणामा आयोजना गर्न लागिएको छ। ‘द इकोसिस्टम अफ अपरच्युनिटिज’ मूल नारासहित आयोजना हुने एक्सपोमा उद्योग, व्यापार तथा उत्पादनसँगै उद्यमशीलता, रोजगारी, सीप विकास र लगानीका अवसरलाई प्राथमिकता दिइनेछ।

करिब तीन दशकअघि उद्योग, उत्पादन र व्यापारलाई एउटै थलोमा जोड्ने उद्देश्यले सुरु भएको विराट एक्सपो यसपटक युवा, विद्यार्थी, उद्यमी, लगानीकर्ता तथा व्यवसायीलाई अवसरसँग जोड्ने व्यावसायिक प्लेटफर्मका रूपमा विकास गर्न खोजिएको अध्यक्ष राठीले बताए।

यस वर्ष एक्सपोमा १० वटा अवसर क्षेत्र र छवटा एकीकृत प्लेटफर्ममार्फत विभिन्न गतिविधि सञ्चालन गरिनेछन्।

विद्यार्थी तथा युवालाई करियर मार्गदर्शन, रोजगारी र सीप विकासका अवसर उपलब्ध गराउने उद्देश्यले ‘लर्न फर द फ्युचर’ कार्यक्रम सञ्चालन हुनेछ। यसअन्तर्गत औद्योगिक स्वचालन, फेसन डिजाइन, कृषि, आतिथ्य सेवा, सौन्दर्य तथा वेलनेस र स्वास्थ्यलगायत आठ क्षेत्रमा तालिम तथा सीप विकासका कार्यक्रम राखिनेछन्।

त्यस्तै, नयाँ सोच, नवप्रवर्तन र उद्यमशीलतालाई प्रोत्साहन गर्न ‘स्टार्टअप एन्ड इन्टरप्रेनरसिप प्याभिलियन’ सञ्चालन गरिनेछ। यसमा मेकर स्पेस, डिजाइन थिंकिङ, बुट क्याम्प तथा नयाँ र वृद्धि उन्मुख उद्यमका उत्पादन तथा सेवाको प्रदर्शनी हुनेछ।

उद्योग तथा व्यवसायलाई आवश्यक पर्ने दर्ता, कानुनी परामर्श, ब्रान्डिङ, प्याकेजिङ, गुणस्तर परीक्षण, प्रमाणीकरण, लजिस्टिक्स र बजार पहुँचसम्बन्धी सेवा उपलब्ध गराउन ‘बिजनेस डेभलपमेन्ट सर्भिसेज कनेक्ट’ प्लेटफर्मसमेत रहनेछ।

एक्सपोको अर्को मुख्य आकर्षणका रूपमा तीन दिनसम्म ‘बिराट बिजनेस समिट २०२६–अपरच्युनिटी कनेक्ट’ आयोजना गरिनेछ। समिटमा देशभरका उद्योगी, व्यवसायी, लगानीकर्ता, नीतिनिर्माता तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरू सहभागी हुनेछन्।

समिटमा ‘इन्भेस्ट एन्ड बिल्ड’, ‘कनेक्ट एन्ड एक्सपान्ड’ तथा ‘इन्फ्लुएन्स एन्ड ग्रो’ गरी तीन विषयमा छलफल तथा व्यावसायिक अन्तरक्रिया हुनेछ।

यस क्रममा कोशी प्रदेशका १४ वटै जिल्लाका उद्योग वाणिज्य संघका प्रतिनिधिले आ–आफ्नो क्षेत्रको आर्थिक तथा व्यावसायिक सम्भावना प्रस्तुत गर्नेछन्। नेपाल–भारत तथा नेपाल–बंगलादेश बिजनेस फोरम, बीटुबी मिटिङ र विषयगत छलफलसमेत आयोजना गरिने आयोजकले जनाएको छ।

यसपटक एक्सपोमा ‘अपरच्युनिटी वाल’ पनि राखिनेछ। यसमार्फत जिल्लागत तथा स्थानीय तहका लगानीका सम्भावना, स्थानीय उत्पादन, पूर्वाधार, कच्चा पदार्थ, प्रविधि, बजार र साझेदारीका अवसर प्रस्तुत गरिनेछ।

२७५ भन्दा बढी स्टल, १४ जिल्लाका उत्पादनलाई प्राथमिकता

आयोजकका अनुसार एक्सपोमा करिब १५० औद्योगिक तथा कर्पोरेट स्टल, १५ प्रायोजकका विशेष बुथ, ५० कृषि तथा साना उद्यमका स्टल, २० अटोमोबाइल स्टल र १२ खाद्य स्टल रहनेछन्।

त्यस्तै, १० बिजनेस डेभलपमेन्ट सर्भिसेज स्टल, १० तालिम प्रदायकका स्टल र १० साना तथा वृद्धि उन्मुख उद्यमका स्टल रहनेछन्। बाल उद्यम, शैक्षिक तथा स्वास्थ्य संस्था, बैंक तथा वित्तीय संस्था र अन्य सेवा प्रदायकको पनि सहभागिता रहनेछ।

कोशी प्रदेशका १४ वटै जिल्लाका कृषि, महिला, घरेलु तथा साना उद्यमीका उत्पादनलाई विशेष प्राथमिकता दिइनेछ। सुनसरी–मोरङ औद्योगिक करिडोरका प्रमुख औद्योगिक उत्पादनसमेत प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ।

एक्सपोमा विभिन्न क्षेत्रका उत्पादन, सेवा, प्रविधि, कृषि, अटोमोबाइल्स, खाद्य तथा मनोरञ्जनात्मक गतिविधि समेटिनेछन्। हरेक साँझ राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति पनि रहनेछ।

२ लाख ५० हजार अवलोकनकर्ता आउने अपेक्षा

आयोजकले यस वर्षको एक्सपोमा करिब २ लाख ५० हजार अवलोकनकर्ता आउने अपेक्षा गरेको छ। त्यस्तै, ३०० भन्दा बढी कम्पनी तथा संस्थाको सहभागिता, २५ हजार विद्यार्थीको उपस्थिति र एक हजार पाँच सयभन्दा बढी व्यावसायिक म्याचमेकिङ तथा सम्पर्क निर्माण गर्ने लक्ष्य राखिएको छ।

एक्सपोमार्फत करिब दुई हजार युवालाई रोजगारीका अवसरसँग जोड्ने र कम्तीमा २० वटा लगानीयोग्य स्टार्टअप तथा उद्यमशील परियोजनालाई लगानीकर्तासमक्ष प्रस्तुत गर्ने लक्ष्यसमेत आयोजकको छ।

एक्सपोको तयारी तीव्र रूपमा अघि बढिरहेको उद्योग संगठन मोरङले जनाएको छ। स्टल बुकिङ, प्रायोजक तथा सहभागी संस्थासँगको समन्वय, प्रदर्शनी क्षेत्र व्यवस्थापन, आधिकारिक वेबसाइट, अनलाइन स्टल बुकिङ प्रणाली, थ्रीडी भर्चुअल टुर र विस्तृत मास्टर प्लान तयार पार्ने काम भइरहेको छ।

यस वर्ष एक्स्ट्रिम इनर्जी ड्रिंक्स टाइटल स्पोन्सर रहेको छ। शिखर इन्स्योरेन्स र म्याजिक फुटवेयर डायमन्ड स्पोन्सर, नबिल बैंक र एनएलजी इन्स्योरेन्स गोल्ड स्पोन्सर तथा पीएलओ लुब आयल र काबरा समूह सिल्भर स्पोन्सर रहेका छन्।

एक्सपोको प्रवर्द्धक संस्थाका रूपमा कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालय, विराटनगर महानगरपालिका, नेपाल उद्योग वाणिज्य महासंघ र कोशी प्रदेश रहेका छन्।

आयोजकले विराट एक्सपो २०२६ लाई व्यापार मेलामा मात्र सीमित नराखी नेपालको औद्योगिक तथा व्यावसायिक सम्भावना, लगानी, रोजगारी र उद्यमशीलतालाई जोड्ने व्यावसायिक सञ्जालका रूपमा स्थापित गर्ने लक्ष्य राखेको जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka