फायल फोटो
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को आगामी सिजनका लागि सहभागी टोलीहरूले विश्वविख्यात अन्तर्राष्ट्रिय खेलाडीहरू अनुबन्ध गर्ने होडबाजी तीव्र बनाएका छन्। यसैक्रममा काठमाडौँ गोर्खाजले अस्ट्रेलियाका विश्वप्रसिद्ध एवं आक्रामक ओपनर ब्याटर डेभिड वार्नरलाई टोलीमा भित्र्याउँदै यस सिजनको सबैभन्दा ठूलो र धमाकादार सम्झौता गरेको छ। वार्नर एनपिएलको इतिहासमै हालसम्मका सबैभन्दा हाइप्रोफाइल खेलाडी हुन्। उनीसँगै काठमाडौँले श्रीलंकाका सहान आर्चिगेलाई पनि अनुबन्ध गरेको छ।
उता साविक विजेता जनकपुर बोल्ट्सले आफ्ना पुराना स्टारहरूलाई निरन्तरता दिँदै रणनीति बलियो बनाएको छ। न्युजिल्यान्डका स्टार अलराउन्डर जिमी निसम पुनः जनकपुरको टोलीमा फर्किएका छन् भने भारतीय मूलका अमेरिकी अलराउन्डर हरमित सिंहलाई जनकपुरले टोलीको कप्तानीसहित अनुबन्ध गरेको छ।
अन्य टोलीहरूले पनि विश्वस्तरीय खेलाडी भित्र्याउने क्रममा ठूला नामहरू सार्वजनिक गरेका छन् ।
पोखरा एभेन्जर्स: बंगलादेशका महान् अलराउन्डर शाकिब अल हसन यस सिजन पोखरा एभेन्जर्सबाट मैदान उत्रिने पक्का भएको छ।
सुदूरपश्चिम रोयल्स: एनपिएलमा सर्वाधिक विकेट लिने न्युजिल्यान्डका तीव्र गतिका बलर स्कट कुगेलेइनलाई सुदूरपश्चिमले पुनः निरन्तरता दिएको छ।
लुम्बिनी लायन्स: यसअघि लुम्बिनीलाई उपाधि जिताउन मुख्य भूमिका खेलेका श्रीलंकाका विकेटकिपर–ब्याटर निरोशन डिकवेलालाई टोलीले तेस्रो सिजनका लागि पुनः अनुबन्ध गरेको छ।
विश्वस्तरीय र अनुभवी विदेशी खेलाडीहरूको आगमनले आगामी एनपिएल थप प्रतिस्पर्धात्मक र रोमान्चक हुने निश्चित देखिएको छ।
