विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले सामाजिक सञ्जालका पासवर्ड तथा बैंकको ओटिपी (वन टाइम पासवर्ड) जस्ता गोप्य विवरण कसैसँग पनि साझा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
पछिल्लो समय अनलाइन माध्यमबाट हुने ठगीका घटना बढ्दै गएको भन्दै मोरङ प्रहरीले सार्वजनिक भिडियो सन्देशमार्फत सर्वसाधारणलाई सचेत र सतर्क रहन अपिल गरेको हो।
मोरङ प्रहरीका प्रहरी उपरीक्षक कवित कटवालले बैंकका कर्मचारी भन्दै फोन गरेर ओटिपी माग्ने लगायतका गतिविधि बढेको पाइएको बताए। उनले बैंक तथा सामाजिक सञ्जालसँग सम्बन्धित कुनै पनि गोप्य विवरण अपरिचित व्यक्ति वा फोन गर्ने व्यक्तिलाई नदिन आग्रह गरे।
प्रहरीले अनलाइन माध्यमबाट कसैसँग आर्थिक लेनदेन वा कारोबारसम्बन्धी कुराकानी भए त्यसको स्क्रिनसट सुरक्षित राख्नसमेत अनुरोध गरेको छ। त्यस्ता प्रमाणले ठगीसम्बन्धी घटना भएमा अनुसन्धानमा सहयोग पुग्ने प्रहरीले जनाएको छ।
प्रहरीले अनलाइन ठगीबाट जोगिन अपरिचित व्यक्तिको फोन, सन्देश तथा लिंकमा विश्वास नगर्न र व्यक्तिगत तथा बैंकिङ विवरण सुरक्षित राख्न आग्रह गरेको छ।
