Premier Cables

राजनीति

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र २९, २०८३  | साँझ ६:१५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ | प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री शाहले पुनःस्थापनाका लागि सरकारले आफ्नै स्रोतसाधनका साथै दातृ निकायबाट प्राप्त सहयोगसमेत परिचालन गर्ने तयारी गरिरहेको बताउनुभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो।

विज्ञापन

प्रधानमन्त्री शाहले विपद्का समयमा सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय भएको भन्दै त्यसबाट आफू खुसी भएको बताउनुभयो। उहाँले विगतमा तीन तहका सरकारबीच समन्वय नहुने गुनासो सुनिँदै आए पनि यस विपद्का क्रममा सबै तह एकै ठाउँमा उभिएर काम गरेको उल्लेख गर्नुभयो।

उहाँले प्रभावित क्षेत्रमा सडक सञ्जाल जतिसक्दो चाँडो पुनःस्थापना गर्न सरकारले निरन्तर काम गरिरहेको बताउँदै सडक सञ्चालनमा आएपछि प्रभावित क्षेत्रलाई पूर्ववत् अवस्थामा फर्काउन सहज हुने विश्वास व्यक्त गर्नुभयो।

प्रधानमन्त्री शाहले नदी तटीय क्षेत्रमा रहेका बस्ती जोखिममा रहेको विषय सरकारले सुरुदेखि नै उठाउँदै आएको उल्लेख गर्दै भोटेकोशी बाढीबाट प्रभावित तटीय क्षेत्रमा अब पुनः बस्ती बसाउन सम्भव नहुने बताउनुभयो। उहाँका अनुसार सरकारले प्रभावित क्षेत्रबाट नजिकै तर सुरक्षित स्थानमा नयाँ बस्ती विकास गर्ने तयारी थालेको छ।

नयाँ बस्ती विकास गर्दा प्रभावित नागरिकको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलगायतका पक्षलाई ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो। खेतीयोग्य जमिन संरक्षण गर्दै वैज्ञानिक ढङ्गले बस्ती व्यवस्थापन गर्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री शाहले सुरक्षित स्थानमा आवश्यक जग्गा पहिचान गरी सङ्घ सरकारलाई सिफारिस गर्न स्थानीय जनप्रतिनिधिलाई आग्रह गर्नुभयो।

प्रभावित क्षेत्रका जनप्रतिनिधिसँगको छलफलबाट बाढीपछिको वास्तविक अवस्था बुझ्न सहयोग पुगेको प्रधानमन्त्री शाहले बताउनुभयो।

छलफलमा गृहमन्त्री सुधन गुरुङ, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, नुवाकोटका प्रतिनिधिसभा सदस्य एवं सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना तथा नुवाकोटबाट निर्वाचित प्रतिनिधिसभा सदस्य अच्युतम लामिछाने सहभागी हुनुहुन्थ्यो।

त्यस्तै नुवाकोटका विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, बेलकोटगढी नगरपालिकाका प्रमुख जगतबहादुर गुरुङ, किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ र तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारी सहभागी हुनुहुन्थ्यो।

रसुवाबाट उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्याल, कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटा र आमाछोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ सहभागी हुनुहुन्थ्यो।

धादिङबाट गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडा, सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा, गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ र बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक), तनहुँबाट देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा र आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान तथा गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिना (साकार) पनि छलफलमा सहभागी हुनुहुन्थ्यो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka