काठमाडौं | फिलिपिन्सको पलावन प्रान्तको पर्यटकीय क्षेत्र नजिकै पानीजहाजमा आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने ८७ जना बेपत्ता भएका छन्। फिलिपिन्सको तटरक्षकले बिहीबार घटनाबारे जानकारी दिएको हो।
तटरक्षकका अनुसार ‘एमभी जुन एस्टर’ नामक पानीजहाजमा अपतटीय क्षेत्रमा आगलागी भएको हो। तटरक्षकले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमा पानीजहाज पूर्ण रूपमा आगोमा जलेको देखिन्छ।
तटरक्षकका क्याप्टेन नोएमी कायाब्याबले प्रारम्भिक विवरणअनुसार ४२ जनाको उद्धार गरिएको र ८७ जना अझै बेपत्ता रहेको स्थानीय रेडियोलाई बताउनुभयो। उद्धार गरिएकामध्ये ३८ जना यात्रु र चार जना चालक दलका सदस्य छन्।
पानीजहाजको यात्रु विवरणमा १३४ जना यात्रु तथा चालक दलका सदस्य रहेको उल्लेख छ। घटनाको केही घण्टापछि थप एक जनाको उद्धार गरिएको भए पनि उनको पहिचान खुल्न नसकेको तटरक्षकले जनाएको छ।
खोजी तथा उद्धारकार्य जारी रहेकाले मृतक, उद्धार गरिएका र बेपत्ता व्यक्तिको सङ्ख्या परिवर्तन हुन सक्ने क्याप्टेन कायाब्याबले बताउनुभयो। पानीजहाजमा विदेशी नागरिक रहे वा नरहेकोबारे तत्काल कुनै जानकारी प्राप्त नभएको उहाँले बताउनुभयो।
मरीन ट्राफिकको तथ्याङ्कअनुसार ‘जुन एस्टर’ मनिलाबाट प्रस्थान गरेको थियो।
फिलिपिन्समा यसअघि पनि पानीजहाज दुर्घटनाका घटना भएका छन्। गत जनवरीमा ३४० भन्दा बढी मानिस सवार तीनतले पानीजहाज दक्षिणी फिलिपिन्समा डुब्दा कम्तीमा ५२ जनाको मृत्यु भएको थियो। सन् २०२३ मा ‘लेडी मेरी जोय–३’ मा आगलागी हुँदा ३१ जनाको मृत्यु भएको थियो। सोही मार्गमा ‘एमभी त्रिशा केर्स्टिन–३’ पनि दुर्घटनामा परेको थियो।
