रसुवा | सरकारले बाढी प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत नुन, तेल, खाद्यान्न, औषधिलगायत अत्यावश्यक सामग्री पुर्याउँदै उद्धारसँगै राहत वितरणलाई प्राथमिकता दिएको छ।
बाढीका कारण सडकमार्गबाट सम्पर्क विच्छेद भएका हाकु, गत्लाङलगायत गाउँबस्तीमा आज पनि दुईवटा हेलिकप्टरमार्फत अत्यावश्यक सामग्री ढुवानी भइरहेको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले जानकारी दिए।
उनका अनुसार नेपाली सेनाको नेतृत्वमा सशस्त्र प्रहरी र नेपाल प्रहरी सम्मिलित सुरक्षाकर्मीको टोलीले उद्धार तथा राहत वितरणमा संलग्न विभिन्न पक्षसँग समन्वय गर्दै निरन्तर काम गरिरहेको छ।
संघीय सरकारको सहयोगमा बाढी प्रभावित गोसाइँकुण्ड गाउँपालिकाको केन्द्र स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमा तुइन जडानको काम पनि अघि बढाइएको छ। उद्धारमा कठिनाइ भइरहेको चिलिमे जलविद्युत् केन्द्रको टनेलभित्रको बाटो खुलाउन नेपाल विद्युत् प्राधिकरणका प्राविधिकको सहयोगमा नेपाली सेनाको टोलीले काम गरिरहेको अधिकारीले बताए।
यसैबीच, काठमाडौँ स्वयम्भूस्थित ‘छाउनी गुम्बा’को तर्फबाट उत्तरी रसुवाका ठूलो स्याफ्रु, ब्रिदिम, थाम्जिङ र शेर्पागाउँका बासिन्दाका लागि ४२ वटा ठूला र ११० वटा साना गरी १५२ वटा सोलार उपलब्ध गराइएको स्थानीयवासी उमेश तामाङले जानकारी दिए।
त्यस्तै, रसुवा–नुवाकोट पर्यटन समाजले दक्षिण रसुवाका राम्चे, धैबुङ र जिबजिबे क्षेत्रका बाढी प्रभावितका लागि ३५ वटा जेनेरेटर उपलब्ध गराएको समाजका अध्यक्ष बलराम न्यौपानेले बताए।
