काठमाडौं | थाइल्यान्डको चोन्बुरी प्रान्तमा एक प्रहरी अधिकारीले आफ्नै शिक्षिका पत्नीको गोली हानी हत्या गरेका छन्। घटनाका बेला विद्यालयमा रहेका ४४ जना बालबालिका भने सुरक्षित रहेको स्थानीय अधिकारीहरूले बताएका छन्।
बैंककको दक्षिणपूर्वमा पर्ने नोङ प्ला लाई उपजिल्लास्थित एक किन्डरगार्टेनमा बुधबार बिहान घटना भएको हो। गोली चलाएपछि प्रहरी अधिकारी आफ्नै घर फर्किएका थिए। त्यसपछि प्रहरीले उनको घर घेरा हालेर आत्मसमर्पण गराउन वार्ता गरिरहेको जनाएको छ। घटनाको कारण भने खुलेको छैन।
उपजिल्ला परिषद्का अध्यक्ष सायन क्लोमोनका अनुसार ती प्रहरी अधिकारी बिहान करिब १०ः३० बजे विद्यालय पुगेका थिए। उनले आफ्नी शिक्षिका पत्नीसँग केही समय कुराकानी गरेपछि गोली चलाएको बताइएको छ।
घटना कक्षाकोठाबाहिर भएकाले कुनै पनि बालबालिकाले प्रत्यक्ष रूपमा घटना नदेखेको अधिकारीहरूले बताएका छन्। घटनापछि सबै बालबालिकालाई सुरक्षित रूपमा अभिभावकको जिम्मा लगाइएको थियो।
चोन्बुरीका गभर्नर नारिस निरामाइवोङले तीन शिक्षिकासहित छ जना कर्मचारी र ४४ जना बालबालिका सुरक्षित रहेको पुष्टि गरेका छन्। घटनापछि किन्डरगार्टेन बन्द गर्न निर्देशन दिइएको छ भने प्रभावित बालबालिका र कर्मचारीलाई मनोवैज्ञानिक सहयोग उपलब्ध गराउने तयारी गरिएको छ।
थाइल्यान्डमा पछिल्लो समय गोलीकाण्डका घटना बढिरहेका छन्। एक महिनाअघि एक किशोरले आफ्ना हजुरबुबा–हजुरआमाको हत्या गरेपछि पाँच कर्मचारी र एक विद्यार्थीमाथि गोली चलाएर आत्महत्या गरेका थिए।
थाइल्यान्डमा बन्दुक स्वामित्वको दर उच्च रहेको मानिन्छ। बन्दुक नियन्त्रणसम्बन्धी कानुन कडा बनाउने प्रतिबद्धता पटकपटक व्यक्त हुँदै आए पनि गोलीकाण्डका घटना रोकिएका छैनन्।
सन् २०२२ मा उत्तरी थाइल्यान्डको एक नर्सरीमा पूर्वप्रहरीले बन्दुक र चक्कुसहित आक्रमण गर्दा २४ बालबालिकासहित ३६ जनाको मृत्यु भएको थियो।
