काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्य र नेपाल–कोरिया द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको छ।
परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि बेपत्ता भएका कोरियाली नागरिकको खोज तथा उद्धारका विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ।
भेटमा परराष्ट्रमन्त्री खनालले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि अन्तरनिकाय द्रुत प्रतिकार्य टोली र कोरियाको ‘डिजास्टर रिलिफ टिम’ परिचालन गरेकोमा कोरिया सरकारप्रति आभार व्यक्त गरे। उनले बाढीपीडितका लागि कोरिया सरकारले उपलब्ध गराएको मानवीय सहायता तथा राहत सामग्रीका लागि धन्यवाद दिए।
मन्त्री खनालले विपद्पछिको पुनर्निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए। भविष्यमा यस्ता विपद्बाट हुने क्षति न्यूनीकरण गर्नेगरी सुरक्षित र दिगो पूर्वाधार निर्माण तथा ‘बिल्ड ब्याक बेटर’ अवधारणाअनुसार पुनर्निर्माण अघि बढाउने सरकारको योजना रहेको उनले बताए। यसका लागि कोरियाबाट निरन्तर सहयोगको अपेक्षा रहेको उनको भनाइ थियो।
भेटवार्तामा कोरियाका परराष्ट्रमन्त्री ह्युनले नेपालमा विपद्पछिको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि आफ्नो सरकारले आवश्यक सहयोग उपलब्ध गराउन इच्छुक रहेको बताए।
जलवायु परिवर्तनका कारण नेपालजस्ता मुलुकले भोग्नुपरेको जनधन र पूर्वाधारको क्षतिप्रति अन्तर्राष्ट्रिय समुदायको ऐतिहासिक जिम्मेवारी रहेको उल्लेख गर्दै ह्युनले जलवायु परिवर्तनबाट सिर्जित जोखिम र विपद्का विषयमा नेपाल र कोरियाले सहकार्य गर्नुपर्नेमा जोड दिए।
उनले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप) लगायत अन्तर्राष्ट्रिय मञ्चमा जलवायु परिवर्तनका कारण नेपालजस्ता मुलुकले भोगिरहेका चुनौती र क्षतिका विषयमा संयुक्त रूपमा आवाज उठाउनुपर्ने बताए। नेपालले जलवायु परिवर्तनबाट भएको क्षतिबापत अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त गर्नुपर्ने वित्तीय सहयोगका विषयमा कोरियाले आफ्नोतर्फबाट आवाज उठाउने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
भेटवार्तामा दुवै पक्षले नेपाल र गणतन्त्र कोरियाबीच लामो समयदेखि कायम मैत्रीपूर्ण सम्बन्ध, पारस्परिक विश्वास र सहकार्यलाई थप सुदृढ बनाउँदै द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।
नेपाल र कोरियाबीच श्रम, विकास साझेदारी, व्यापार, लगानी, प्रविधि तथा जनस्तरको सम्बन्धलगायत विभिन्न क्षेत्रमा सहकार्य हुँदै आएको छ। पछिल्लो विपद्का क्रममा कोरियाबाट प्राप्त खोज तथा उद्धार सहयोग, मानवीय सहायता र राहत सामग्रीले दुई देशबीचको मित्रता र सहकार्यलाई थप बलियो बनाएको छ।
