विराटनगर । श्री राधा कृष्ण रथयात्रा २०८३ को पावन अवसरमा नेपाल अग्रवाल सभासहित यसका भातृ संस्थाहरूको संयुक्त आयोजनामा जुस वितरण तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।
नेपाल अग्रवाल सभा, नेपाल अग्रवाल युवा मञ्च, नेपाल अग्रवाल महिला मञ्च तथा नेपाल अग्रवाल कन्या मञ्चले संयुक्त रूपमा रथयात्रामा सहभागी भक्तजन र सर्वसाधारणलाई लक्षित गरी उक्त कार्यक्रम आयोजना गरेका हुन्।
विराटनगरको तीनपैनी चोकस्थित ग्लोबल आइएमई बैंक अगाडि आयोजित कार्यक्रममा गुडलाइभ बेभरेजको सहयोगमा २०० कार्टुन फ्रुटी (गुडलाइफ ट्रेटा प्याक) वितरण गरिएको थियो। अत्यधिक गर्मी र लामो यात्राका क्रममा भक्तजन तथा दर्शनार्थीहरूलाई राहत पुगोस् भन्ने उद्देश्यले जुस वितरण गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा अग्रवाल समाजका चारै वटा संस्थाका पदाधिकारी तथा सदस्यहरूको उत्साहजनक उपस्थिति रहेको थियो। सहभागीहरूले जुस वितरणका साथै सामाजिक उत्तरदायित्व बहन गर्दै कार्यक्रमस्थल र वरपरका क्षेत्रमा सरसफाइ अभियानसमेत सञ्चालन गरेका थिए।
जुसका खाली डब्बा तथा अन्य फोहोर संकलन गरी सो क्षेत्रलाई स्वच्छ बनाइएको थियो।
रथयात्रा जस्तो ठूलो धार्मिक तथा सांस्कृतिक उत्सवमा स्वच्छता कायम राख्नु सबैको साझा दायित्व हो भन्ने सन्देश प्रवाह गर्न सरसफाइ अभियान चलाइएको नेपाल अग्रवाल युवा मञ्चका महासचिव हिमांशु अग्रवालले जानकारी दिनुभयो।
आयोजक संस्थाहरूले आगामी दिनहरूमा पनि स्वास्थ्य, शिक्षा, संस्कृति, सरसफाइ तथा जनहितका विभिन्न सामाजिक सेवाका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

