विराटनगर । रसुवामा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका मोरङका नागरिकको खोजी तथा विवरण संकलन कार्यलाई जिल्ला प्रशासन कार्यालय मोरङले तीव्रता दिएको छ।
जिल्ला प्रशासन कार्यालय मोरङले सार्वजनिक सूचना जारी गर्दै सम्पर्कविहीन नागरिकका परिवार तथा आफन्तबाट विवरण संकलन गरेको थियो। बिहीबार प्राप्त विवरणअनुसार १४ जना मोरङ निवासी सम्पर्कविहीन रहेको पहिचान खुलेको कार्यालयले जनाएको छ।

प्रशासनका अनुसार सम्पर्कविहीन हुनेमा विराटनगर, विराटचोक, रंगेली, पथरी शनिश्चरे, बेलबारी, सुन्दरहरैँचा तथा लेटाङलगायतका क्षेत्रका नागरिक रहेका छन्। उनीहरू रसुवा बजार, टिमुरे बजार, त्रिशूली नदी, धोबीखोला, अपर त्रिशूली–१ जलविद्युत् आयोजना, दोङसाङ हाइड्रोपावर तथा टिमुरे अध्यागमन कार्यालय आसपासबाट सम्पर्कविहीन भएको विवरण प्राप्त भएको छ।
यसैबीच, मोरङ निवासी ३८ वर्षीय गजेन्द्र थापालाई विदुरस्थित आर्मी क्याम्पमा उद्धार गरी ल्याइएको छ। त्यस्तै, प्रभु बैंक टिमुरे शाखाका प्रबन्धक तथा विराटनगर निवासी रमनलाल श्रेष्ठ टिचिङ अस्पतालमा उपचाररत रहेको प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय मोरङले सम्पर्कविहीन नागरिकको खोजीका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाएको छ। प्राप्त विवरणका आधारमा खोजी कार्यलाई थप तीव्र बनाइने तथा उद्धार र खोजीमा आवश्यक समन्वय गरिने कार्यालयले जनाएको छ।
प्रशासनले रसुवा बाढीपछि आफन्तसँग सम्पर्क हुन नसकेका मोरङका नागरिकबारे कुनै जानकारी भए तत्काल सम्बन्धित निकायलाई उपलब्ध गराउनसमेत आग्रह गरेको छ।
